पाटनको ऐतिहासिक अष्टमातृका नाच सम्पन्न

गँः प्याखँ

काठमाडौँ,  कात्तिक ६ । ललितपुरको पाटनमा धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत अष्टमातृका नाच (गँः प्याखँ) सम्पन्न भएको छ । तान्त्रिक विधि र धार्मिक आस्थाका साथ घटस्थापनादेखि सुरु भएको ११ दिने जात्रा एकादशीका दिन विशेष नृत्य प्रदर्शनसँगै सम्पन्न भएको हो ।

अष्टमातृका नाच व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार हरेक वर्ष घटस्थापनाको दिनदेखि सुरु हुने यो नाच यस वर्ष पनि परम्परागत विधि र धार्मिक मान्यताअनुसार प्रदर्शन गरिएको हो । मल्लकालीन राजा श्रीनिवास मल्लको शासनकालमा नेपाल संवत् ७८४ देखि सुरु भएको मानिने यो नाच करिब ३६२ वर्ष पुरानो सांस्कृतिक परम्परा हो ।

हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ललितपुरको नकबहिल परिसरमा विधिपूर्वक पूजा गरेर नाच सुरु गरिन्छ । नेवार समुदायका शाक्य र बज्राचार्य वंशका कलाकार सहभागी हुने यस नाचलाई देशमा शान्ति, सुरक्षा र समृद्धि कायम हुने तथा मानव जीवनका आठ महाभय-जल, अग्नि, सिंह, सर्प, हात्ती, चोर, झ्यालखाना र भूतप्रेतबाट मुक्ति मिल्ने धार्मिक विश्वाससँग जोडिएको छ ।

घटस्थापनाका दिन बाजागाजासहित नागबहाल र पट्को हुँदै मङ्गलबजार पुगेका देवगणलाई तलेजुका पुजारी राजोपाध्याय ब्राह्मणले पूजाआजा गरी मूलचोकमा प्रवेश गराएपछि नाच औपचारिक रूपमा प्रदर्शन गरिएको थियो । सुरुका चार दिन नकबहिलबाट सुरु भएर पाटन दरबार क्षेत्रको मूलचोकमा प्रदर्शन गरिएको नाच पुनः नकबहिलमा देखाइएको थियो । त्यसपछि पाँच दिन रातिको समयमा कात्तिक डबलीमा नाच प्रदर्शन गरिएको थियो । फूलपाती र विजयादशमीका दिन दिउँसो मूलचोकमा नाच देखाइएको थियो ।

शक्तिको उपासनासँग सम्बन्धित यस नाचमा १३ देवगण सहभागी हुन्छन् । देवीदेवताका मखुण्डो, परम्परागत तान्त्रिक भेषभूषा र विशेष गरगहना लगाएर मण्डलाकार रूपमा प्रस्तुत हुने देवगणले तान्त्रिक विधिअनुसार नृत्य गर्छन् । प्रत्येक देवगणको छुट्टाछुट्टै तान्त्रिक मुद्रा र भावभङ्गी हुने भएकाले नाच अवलोकन गर्न स्थानीयवासी तथा संस्कृतिप्रेमीको भीड लाग्ने गर्छ ।

नाचमा सिंघ्रिणी, भैरव, गणेश, कुमार, ब्रह्मायणी, महेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मी र व्याघ्रिणीका देवगण सहभागी हुन्छन् । विभिन्न रङका मखुण्डो र परम्परागत पहिरनमा प्रस्तुत हुने यी देवगणले नाचमार्फत नेवार समुदायको धार्मिक विश्वास, तान्त्रिक परम्परा र सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै आएका छन् ।

यस नाचमा कलाकारका रूपमा लामो समयदेखि सहभागी हुँदै आएका युवाले परम्पराको निरन्तरतामा योगदान पुर्‍याइरहेका छन् । युवा वाद्यवादक शैलेन्द्र शाक्य विगत २६ वर्षदेखि कौमारी र भैरवको भूमिकामा सहभागी हुँदै आउनुभएको छ । त्यसैगरी आयर्म बज्राचार्यले सिंघ्रिणी र सुप्रिन्स शाक्यले विगत १० वर्षदेखि व्याघ्रिणीको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

नाचमा सहभागी हुने देवगणले घटस्थापनाको अघिल्लो रात आहारविहार शुद्ध गरी तान्त्रिक साधना गर्ने परम्परा छ । त्यसपछि बिहान न्याखाचुकस्थित नित्यनाथ मन्दिरको प्राङ्गणमा परम्परागत पोसाक र गरगहनासहित, तर मखुण्डो नलगाई, क्रमबद्ध रूपमा नागबहाल हुँदै नकबहिल पुग्ने चलन छ । त्यही दिन बेलुकादेखि नाच सुरु हुने परम्पराले यस जात्राको धार्मिक तथा तान्त्रिक महत्वलाई थप उजागर गर्छ ।

एकादशीका दिन नकबहिल डबलीमा विशेष नृत्य प्रदर्शनसँगै यस वर्षको अष्टमातृका नाच सम्पन्न भएको छ । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो परम्पराले पाटनको ऐतिहासिक सम्पदा, नेवार सभ्यताको मौलिकता र धार्मिक–सांस्कृतिक वैभव संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *