भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नमाथि कारवाही हुन्छ : मुख्यमन्त्री पोखरेल

maitrinews

वुटवल। बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बस्ने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ ।

बिहीबार कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा निधन भएको थियो । उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए ।कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनामा निष्पक्ष छानविन गरी दोषीमाथि कार्वाही गर्ने बताउनु भएको छ । आज बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ। निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही हुनेछ।’

अहिले दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवं कर्मचारीहरूले भेरी अस्पतालमा आन्दोलन गरेका छन् । उनीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना लिन नदिने अडान लिएर आन्दोलन गरिरहेका छन् ।