कैलालीमा जिप दुर्घटना, २ को मृत्यु, ३ घाइते

maitrinews

 

धनगढी । कैलालीको भासु भिरमा बुधबार साँझ जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चालकसहित ३ जना घाइते छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका एसपी बामदेव गौतमका अनुसार धनगढीबाट डोटीको जोरायल जाँदै गरेको प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जिप भासु भिरमा दुर्घटना भएको हो ।

दुर्घटनामा कैलालीको चुरे गाउँपालिका–६ की ३६ वर्षीया दुर्गा साउद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा जोरायल–१ का जिप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशील साउद रहेका छन् ।

घाइतेहरुको अत्तरियास्थित पदमा अस्पतालमा प्रारम्भिक उपचारपछि धनगढीस्थित मायामेट्रो अस्पतालमा रिफर गरिएको एसपी गौतमले बताए । जिप भिरबाट झण्डै ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।