चित्लाङमा चलचित्र तुयुको काठमाडौंका मेयरवाट शुभमुहुर्त

काठमाडौं । नेपालभाषाको पहिलो चलचित्र सिलु निर्माण भएको तीन दशक पछि गोसाईकुण्ड अर्थात सिलु तिर्थकै कथावस्तुमा विलकुलै नयाँ चलचित्र तुयु निर्माण हुने भएको छ। चःमति सँकिपाः प्रोडक्सनको निर्माणमा सिलु तीर्थमा आधारित नेपाल भाषाको फिल्म तुयू निर्माण हुने भएको हो। शनिवार चित्लाङ स्थित मार्खुको दि लेकसाइड सिम्लाङ होटलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चलचित्र तुयुको शुभ मुहूर्त गरेपछि चलचित्र निर्माणको कार्य अघि बढ्ेको निर्माण पक्षले भनेको छ।

सिलुमा तीर्थ गएर स्नान गरेमा अति धर्म लाग्छ भन्ने जनविश्वास छ। तर, महिलाहरु तीर्थ जान हुँदैन भन्ने अर्को मान्यता थियो। त्यसैले पुरुष पात्रले जोशीलाई जोखना देखाउँछ। जोशीले पनि श्रीमतीलाई नलैजाउ नत्र विछोड हुन्छ भन्छ। श्रीमती भने प्रेम र अन्धविश्वासमा प्रेमलाई रोज्ने पक्षमा हुन्छिन्। महिला पात्रले त्यसबेलाको समाजको लैंङ्गिक व्यवस्थाविरुद्ध प्रतिरोधु गर्छिन्। सिलु म्ये त्यही प्रतिरोधको गीतिकथा हो।

सिलु तिर्थ गएर फर्किएका महिला पात्रलाई व्यभिचारी राजाले सिपाहीहरु पठाएर अपहरण गरी दरबार लैजान्छ। त्यस क्रममा राजाले पठाएको तारी स्वाँ (फूल) महिलालाई दिइन्छ। विछोडको संघारमा रहेको बेला श्रीमान् निरिह हुन्छ। महिलाले भने श्रीमानलाई नरुन र राजाले दिएको तारी स्वाँ श्रीमानलाई नै सिउरिदिने भन्दै राजासँग दरबारमा प्रतिरोध गरेर फेरि भेट्ने इच्छा प्रकट गर्छिन्।

दरबार पुगेपछि राजाले ती महिलालाई राजसी सेवा सुविधा दिने बताउँछन्। तर महिला भने राजाको सबै सुविधा अस्वीकार गर्दै आफ्नै श्रीमानसँग कसरी भेट्ने भन्ने युक्ति खोज्दै हुन्छिन्। त्यस क्रममा महिलाले चतुर्माससम्म आफ्नो व्रत रहेको भन्दै राजाबाट बच्न सफल हुन्छिन्। र व्रत तोड्ने दिन जोगीहरुलाई दरबारमा बोलाउन भन्छिन्। त्यही बेला ती महिलाका श्रीमान् पनि जोगी बनेर दरबार पुग्छन् र दुवै जना भाग्न सफल हुन्छन्।

यही कथाको सेरोफेरोमा घुमेको छ मल्लकालमा लेखिएको सिलु म्ये। नेपाल भाषामा गोसाइकुण्डलाई सिलु भनिन्छ। म्ये भनेको गीत। नेवार समुदायमा प्रचलित ‘सिलु म्ये’ मै आधारित रहेर फिल्म ‘तुयू’ निर्माण हुने भएको छ। उक्त फिल्मको शुभ मुहुर्तको लागि चःमतिदेखि चित्लाङसम्म ‘तुयू’ फिल्मसँग सम्बन्धित कलाकर्मीहरु पुगेका थिए । निर्माणपक्षबाट शुभ मुहुर्तपश्चात ऐतिहासिक नगर चित्लाङको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नगर भ्रमण गराएका थिए।

चलचित्रमा गीत, कथा र संवाद पूर्णकाजी ज्यापूको रहेको छ। सोहन मानन्धरको छायाङ्कन रहने फिल्मको पटकथा र सम्पादन पनि सोहनको नै हुनेछ। जुलग डंगोलको संगीत रहेको चलचित्र तुयुको निर्देशन पूर्णकाजी ज्यापू र अनुज डंगोलको हुनेछ। चलचित्र तुयुमा रेशमी महर्जन, योगेन महर्जन र राजेन्द्र महर्जनको मुख्य अभिनय रहनेछ। तुयु चितलाङको गाउँ परिवेशमाआधारित रहने भएको छ।

प्रकाशन मिति–२०७८ साल असोज २४ गते आइतवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *