निर्वाचन आयोगद्वारा करिब ९ अर्ब बजेट माग

 

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिनुभयो । निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको उहाँले बताउनुभयो ।

प्रवक्ता पौडेलले भन्नुभयो, “अधिकांश बजेट जिल्लामार्फत मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत खर्चिनेछ ।” निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भने कुल बजेटको करिब १० प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ । प्रवक्ता पौडेलले आयोगले गर्ने खर्चको अधिकांश भाग मतपत्र छपाइ तथा निर्वाचन सामग्री खरिदमा खर्चिने बताउनुभयो । आयोगका कर्मचारी तथा अन्य प्रशासनिक कार्यमा थोरै मात्रै खर्च हुने उहाँले बताउनुभयो । सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयसँग निरन्तर छलफल तथा परामर्श गरेर नै बजेट तयार गरिएकाले निकासा प्रक्रिया छिट्टै सुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *