काँग्रेसमा देउवा पक्ष बलियो
काठमाडौं । १४ औं महाधिवेशन सकिएको करिब तीन महिना पुग्नै लाग्दा बल्ल कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ । सिन्धुपाल्चोक, बारा र सर्लाहीको अधिवेशनले आइतबार नयाँ नेतृत्व चयन गरेसँगै बाँकी रहेका जिल्लाको अधिवेशन पनि सकिएको हो ।
आन्तरिक विवाद र मौसमको प्रतिकूलतका कारण १६ वटा जिल्लाको अधिवेशन महाधिवेशन भन्दा पछि सम्पन्न गर्ने निर्णय कांग्रेसले गरेको थियो ।
७७ वटै जिल्लामा अधिवेशन सकिंदा सभापति शेरबहादुर देउवा पक्ष सभापतिमा बलियो देखिएको छ । यद्यपि केही जिल्ला सभापति भने सभापति देउवा र शेखर पक्षले आआफ्नो निकट भएको दाबी गरेका छन् ।
नेताहरुको दाबी अनुसार देउवा पक्षले ४२ र डा। शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ । पार्टीमा तेस्रो समूहको रुपमा परिचित नेता कृष्णप्रसाद सिटौला पक्षका दुई जनाले जिल्ला सभापतिमा जीत निकालेका छन् ।
१३ औं महाधिवेशनमा भन्दा देउवा पक्ष अहिले तुलनात्मक रुपमा बलियो देखिएको छ । तत्कालीन समयमा ४२ जिल्ला सभापति नेता रामचन्द्र पौडेलको पक्षमा उभिएका थिए ।
