एमाले एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गर्नुभएको छ । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गर्नुभएको हो ।
‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ’, अोलीले भने, ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कम्युनिस्टका नाममा रहेका पार्टीहरूको नामप्रति पनि कटाक्ष गर्नुभयो। ‘जसको काम नै फाटोवादी उ एकीकृत, जुन प्रतिगामी छ उ समाजवादी’, अध्यक्ष ओलीले एकीकृत समाजवादीप्रति लक्षित गर्दै भन्नुभयो ।
