जलाशययुक्त आयोजनामा जोड
गोंगर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ। दोलखाको बिगु गाउँपालकिा १ गोगरस्थित माथिल्लो तामाकोशीको पावर हाउसमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो। प्रधानमन्त्री देउवाले आयोजनाले देशकै लगानी, जनशक्ति व्यवस्थापनमा विद्युत उत्पादन गर्न सक्छै भन्ने उदाहरण दिएको उल्लेख गर्नुभयो।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०र१३२ केभी नयाँ खिम्ती सबस्टेशनको ‘समुद्घाटन तथा प्रशंसापत्र वितरण समारोह’ लाई सम्बोधन गर्दै जलाशयुक्त आयोजनाको विकासमा सरकार लागिपर्ने बताउनुभएको हो। उहाँले बूढीगण्डकी र पश्चिम सेती जलाशयुक्त आयोजनाको नामै लिएर ती आयोजना अगाडि बढाउने उल्लेख गर्नुभयो।
स्थाानीयलाई शेयर दिएर यही मोडलमा अन्य जलविद्युत आयोजना निर्माण गर्न सकिने उहाँको विश्वास छ। उहाँले पश्चिम सेती र बुढीगण्डकी जस्ता जलाशययुक्त आयोजनाको बारेमा चर्चा गर्नुभयो।
यस्तै ऊर्जामन्त्री पम्फा भुसालले नेपालमा उत्पादन भएको विद्युतलाई अन्तर्राष्ट्रिय बजारमा लैजादा व्यापार घाटा कम हुने बताउनुभएको छ। नेपालको अर्थतन्त्रमा जलविद्युतले महत्वपूर्ण योगदान गर्ने उहाँको भनाइ छ।
कार्यक्रममा प्रम देउवाले आयोजनाका लगानीकर्ता, ठेकेदार, कम्पनी, सहयोगी संस्था, आयोजनाका पूर्व अध्यक्ष, स्थानीय संस्थालाई प्रशंसापत्र प्रदान गर्नुभएको छ। कार्यक्रममा सांसद जिपछिरिङ् लामा, पार्वत गुरुङले सम्बोधन गर्नुभएको छ।
ऊर्जा सुरक्षाका लागि ती आयोजना महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो। सुक्खायाममा जलाशयुक्त आयोजनाको भूमिका महत्वपूर्ण रहने र आर्थिक रुपमा पनि देशलाई फाइदा पुग्ने उल्लेख गर्दै उहाँले स्वच्छ र हरित ऊर्जाका लागि पनि ठूला र जलाशयुक्त आयोजना जरुरी रहेको र त्यसका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभयो।
