विद्यालय जाँदै गरेकी छात्राको हत्या

maitrinews

 

उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ बुद्धच‍ौकीस्थित विद्यालय जाँदै गरेकी एक बालिकाको हत्या भएको छ । एसईईको तयारीका लागि अतिरिक्त कक्षाका लागि विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनवारको जसोधा खोलामा हत्या भएको हो ।

स्थानीयले बालिकाको शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । बिहान ४ बजे नै घरबाट विद्यालय गएकी बालिकाको बिहान ७ बजे स्थानीयले शव देखिपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको विस्तृत जानकारी अनुसन्धानपछि खुलासा हुने जनाएको छ । प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताए । उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताए ।

कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका एसईईको परीक्षा नजिकिँदै गर्दा तयारीका लागि ट्युसन पढ्न नियमित रुपमा बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन् ।
घटनास्थल विद्यालयदेखि करिब ७ सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीय भरत घिमिरेले बताए । घिमिरेका अनुसार मृतक बालिकाको टाउकोमा चोट लागेको देखिन्छ । शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरेको हुनसक्ने उनले बताए ।