मिसेस हङकङको लोभलाग्दो गायन
काठमाडौं। लोक गीत संगीतको क्षेत्रमा उर्बर गायिका मञ्जु थापाले गीत गायनको अलावा म्युजिक भिडियोको अभिनयमा पनि छलाङ मारेकी छन्। यसक्रममा गायिका थापाकै प्रस्तुतिमा माया लाउदै जाऊ नामक भिडियो नै सार्वजनिक भएको हो।
जसमा बुनियाद गीतका ख्यातिप्राप्त गायक आनन्द कार्की र भारतीय सुपरस्टार गायिका साधना सरगमको गायन रहेको छ। माया लाउदै जाऊ बोलको गीतको भिडियोमा लोक गायिका थापा समसामयिक नेपाली चलचित्रका ख्यातिप्राप्त नायक धीरेन शाक्यसंग दमदार अभिनय गरेर थप उचाईमा पुगेकी छन्।
गायिका थापा र नायक शाक्यको गृहनगर पाल्पाको रानीमहल लगायतका मनमोहक स्थानमा छायाँकन भएको भिडियोमा नायक शाक्यसंग गायिका थापाले प्रेमिल अभिनय गरेकी छन्। जुन स्वभाविक अनि मनमोहक रहेको छ। आनन्द अधिकारीको शब्द र सचिन सिंहको संगित रहेको गीतमा रम्नुको मज्जा नै बेग्लै रहेको गायिका थापाको भनाइ छ। भिडियोलाई कमल राईले निर्देशन गरेका हुन ।
सानैदेखि गीत गायनमा लागेकी गायिका थापालाई लोक गायन नै रुचिको विषय हो। लोक गायनमा रम्नुको बेग्लै मज्जा रहेको उनले भनेकी छन्। त्यसको अलावा आधुनिक संगीत पनि त्यतिकै मन पर्ने गरेको वताउने उनी निकट भविष्यमा आधुनिक संगीतमा पनि छलाङ मार्ने तर्खरमा रहेकी छन्। हङकङ आइडी समेत रहेकी गायिका थापा विगत १८ बर्षदेखि हङकङ–नेपाल आतेजाते गरिरहेकी छन्।
सन् २०१८ मा भएको मिसेस हङकङमा फोटोजेनिक तथा पब्लिक च्वाइस टाइटल समेत जितेकी उनी हङकङ एनआरएनका पूर्व सह–कोषाध्यक्ष तथा पाल्पा श्रीनगर हङकङ समाजको वर्तमान उपाध्यक्ष समेत रहेकी छन्। गीत गायन तथा अभिनयको अलावा समाज सेवामा पनि तल्लिन उनले धेरै स्थानमा दिल खोलेर सामाजिक कार्यहरु गरेर सवैको मन जितिसकेकी छन्। फुर्सदको बेला हङकङ तथा नेपाल दुवैतिर समाज सेवामा अग्रता दिने कार्य उनीवाट हुदैआएको छ।