परिणाम आउने गरी काम गर्न सञ्चारमन्त्री कार्कीद्वारा निर्देशन

काठमाडौं : सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयअन्तर्गतका निकायलाई परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, बजेट वक्तव्य तथा उल्लेखित बुँदा र आर्थिक कार्यक्रमको एकीकृत कार्यान्वयन कार्ययोजना सार्वजनिकरण एवं आर्थिक वर्ष २०७९/८० का कार्यसम्पादन सम्झौता कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अब हामीले अनुहार होइन, काम हेरेर अगाडि बढेको खण्डमा मात्रै परिणाममुखी काम गर्न सक्छौं । होइन भने भाषणले मात्रै हुँदैन, हामीले काम गर्ने भनेर धेरै पटक धेरै विषयमा हस्ताक्षर गरियो, तर कार्यान्वयन हुँदैन, हाम्रो कमजोर पक्ष भनेको त्यही हो, त्यसैले कार्यान्वयनसँगै परणाम आउने गरी काम गर्नुहोस् ।’

मन्त्री कार्कीले मन्त्रालयअन्तर्गतका निकायका नाममा रहेको सम्पत्तिको संरक्षण गर्दै उत्पादनशीलतासँग जोड्नसमेत निर्देशन दिनुभयो । उहाँले राजनीतिक नेतृत्व र स्थायी सरकारका रुपमा रहेका कर्मचारी इमान्दार र समर्पित भयो भने सरकारले अवलम्बन गरेको नीतिलाई अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्री कार्की र सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, सचिव र मन्त्रालयका महाशाखा प्रमुख, सचिव र मन्त्रालयअन्तर्गतका निकायका प्रमुखबीचमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको थियो । सोही अवसरमा सचिव डा अर्यालले चालु आर्थिक वर्षमा खर्च र नतिजालाई जोड्ने गरी तथा यो वर्षको खर्चमा बेरुजु शून्य हुने गरी काम गर्न निर्देशन दिनुभयो ।

सचिव डा अर्यालले मन्त्रालयअन्तर्गत रहेका निकायका नाममा रहेको भौतिक सम्पत्तिको विवरण मन्त्री समक्ष पेश गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *