नेवार समुदायको मौलिक पर्व गथामुंग आज मनाइँदै

 

काठमाडौं : नेवार समुदायको मौलिक पर्व गथामुंग आज मनाइँदै छ । नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेका पाइन्छ । देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायहरुले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गथामुंगः पर्व मनाउँदैछन् ।

विशेषगरी किसानले रोपाइँलगायतका बढी बल प्रयोग हुने कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तान्त्रिक विधिले आह्वान गरेर बोलाएका भूतप्रेतलाई तान्त्रिक विधिद्वारा नै बिदा गर्ने पर्वको रूपमा समेत लिइन्छ ।

यस दिन नेवार समुदायमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबैले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने परम्परा रहेको छ । घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकँुडासमेत धोएर चोखो बनाउनु पर्दछ । जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ ।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछ । काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो) मा चिउराको धुलो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीबिरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ ।

बौ वाय् ज्यासँगसँगै घरघरको मूलढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलामको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीहरुले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ।

त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोबाटोमा फाल्ने कार्य) सम्पन्न गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास वा दोबाटोमा लगेर सेलाउने गरिन्छ ।

घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छ््रवालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोक–चोकमा ठड्याएर राखिन्छ । साँझपख सो राक्षसको प्रतीकस्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई विभिन्न बाजागाजाका साथ नजिकको खोला, चौबाटो र नगर बाहिर लगेर जलाइन्छ । यसरी जलाउन लैजाँदा बाजागाजाको तालमा अश्लील शब्दहरु प्रयोग गर्दै गीत गाउँदै जाने गरिन्छ ।

यस पर्वलाई किसानहरुको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँकार्य सम्पन्न भएको) र चाडपर्वको सुरुवात भएको सङ्केत पर्वको रूपमा पनि लिने गरिएको छ । नेवार समुदायमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने गरिन्छ ।