सीसीटीभी फुटेज प्रकरण : समितिले बोलायो प्रहरी प्रयोगशालाका विज्ञ
काठमाडौं : संसदीय विशेष छानविन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताका विषयमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट अध्ययन सुरु गरेको छ ।
आज बिहान बसेको समितिको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरणका सम्बन्धमा अध्ययन सुरु गरिएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई सम्लग्न गराएको भनी गठित छानबिन समितिले अर्थमन्त्रालयमा डिलिट गरिएको सिसीटिभी फुटेजको वास्तविकता पत्ता लगाउन विधि विज्ञान प्रयोगशाला पठाएको थियो ।
जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए । सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि शर्मा थप आलोचित बनेका थिए ।
