आयातीत महले बजार लिंदा दाङमा किसानको मह बिकेन
दाङ : दाङको घोराहीमा मह नबिकेर माहुरीपालक किसानहरु चिन्तित बनेका छन् । घोराही उपमहानगरपालिका–१३ का रेशमबहादुर राणासँग १५० माहुरीका घार छन् । उहाँले ८३ घारबाट माहुरीपालन सुरुआत गर्नुभएको हो ।
त्यही अवस्थाबाट उत्साहित हुँदै राणाले माहुरीका घार थप्नुभयो । ‘घार थपेसँगै मह उत्पादन बढेको छ, तर मह बिक्री हुन सकेको छैन’, राणाले भन्नुभयो । जिल्लामै विगत वर्षभन्दा यस पटक मह उत्पादन बढेको छ । मह नबिकेपछि किसान निराश छन् । स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसानले मह घरमै भण्डारण गरी बजार खोज्न थालेका छन् ।
‘बजारमा मह खपत हुन सकेको छैन, घरमा यत्तिकै राख्नु परेको छ’ राणाले भन्नुभयो, ‘फेरि मह उत्पादन हुने याम सुरु भएको छ, बिक्रीको चिन्ता हुन थालेको छ ।’ उत्पादन राम्रो भए पनि महले बजार नपाएपछि निराश बनेको तुलसीपुरका मौरीपालक किसान उमेश थापा बताउनुहुन्छ ।
किसानले सेरेना र मेलिफेरा जातका माहुरीपालन गर्दै आएका छन् । जिल्लामा हाल पाँच सयभन्दा बढी व्यावसायिक रुपमा मौरीपालक किसान रहेको नेपाल मौरीपालक महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । जिल्लामा हाल १५० टन मह बिक्री नभएर थन्किएको तथ्याङ्क महासङ्घसित छ ।
आयातीत महले पनि स्थानीय महको बजार प्रतिस्थापन गरेको छ । महको स्थानीय ब्रान्डलाई स्तरीय बनाउन जरुरी देखिन्छ । दाङको मह पोखरा, काठमाडौंलगायत सहरमा बिक्री हुने गरेको छ । भारतीय बजारबाट आउने सस्तो मूल्यको महका कारण उपभोक्ताले स्थानीय महमा चासो दिएका छैनन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मौरीजोनकी प्राविधिक सहायक नारायणी घर्ती मौरीपालक कृषकलाई मौरीको नस्ल सुधारदेखि व्यावसायिक रुपमा मह उत्पादनमा अनुदानलगायत सहयोग गर्दै आएको बताउनुहुन्छ । ‘बजारीकरणको काम कृषक आफैले गर्ने गरेका छन्’ उहाँले भन्नुभयो । यस पटक औसतमा प्रतिघार १२ दशमलव ८३ किलो मह उत्पादन भएको घर्तीले बताउनुभयो । मौरीजोनमा घोराहीका १०१, तुलसीपुरका ४५ र बङ्गलाचुलीका ११ फार्म सूचीकृत छन् ।
