मौद्रिक नीतिपछि फेरी ओरालो लाग्यो नेप्से
काठमाडौं : राष्ट्र बैंकले गत शुक्रबार ल्याएको मौद्रिक नीतिपछि लगातार बढेको शेयर बजार मंगलबार पुनः ओरालो लागेको छ । मौद्रिक नीतिपछि पनि लगानीकर्ताहरु भने सन्तुष्ट देखिएको छैन ।
मंगलबार नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा झरेको छ भने ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर कारोबार भएको छ ।
घटेको बजारमा पनि मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ९.३२ प्रतिशतले बढेको छ भने सुर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत, युनाइटेड मोदि हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ । भने गणपति लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशतले घटेको छ । रिभर फल्स हाइड्रोपावरको ५.९९ प्रतिशत,सबैको लघुवित्तको ५.१३ प्रतिशत र पोखरा फाइनान्सको ५.१० प्रतिशतले घटेको छ ।
मंगलबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण काबेली हाइड्रोपावरको १५ करोड ५६ लाख, अरुण भ्याली हाइड्रोपावरको १० करोड २४ लाख र हिमालयन डिस्टिलरीको ९ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।