लुटपाटको नाटक गर्दा आफै प्रहरीको फन्दामा
महोत्तरी : आफ्नै सहोदर भाइको रकम आफ्नो बनाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफै फन्दामा परेका छन् ।
महोत्तरीका रामगोपालपुर नगरपालिका–७ सहसौलाका अरुणकुमार चौधरी आफैले रचेको बनावटी लुटपाट घटनाको फन्दामा आफै परेका हुन् । ढाँटछल गरेर भाइको रु पाँच लाख आफ्नो बनाउने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ । उनी अहिले प्रहरी हिरासतमा छन् ।
गत शुक्रबार साँझपख जिल्लाकै गौशाला बजारबाट घर फर्कँदै गरेका चौधरीले गौशाला–सम्सी सडकखण्डको रेडक्रस भवन नजिकै आफूलाई चक्कु प्रहार गरी लुटेराले रु पाँच लाख नगद लुटेर लगेको प्रहरीलाई बताएका थिए । सूचना पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौशालाले चौधरीले नाटकीय घटना रचेको पत्ता लगाएको हो ।
लुटपाट भएको सूचना पाएपछि हामी घटनास्थल पुगेर अनुसन्धानमा लाग्यौं, त्यो त नाटक रहेछ, इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख रञ्जन मिश्रले भन्नुभयो, ‘लुटपाटको नाटक रचेर प्रहरी र परिवारलाई झुक्याउने चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको तयारी गर्दैछौं ।’
अनुसन्धानबाट आफ्नै भाइले बैंक खातामा जम्मा गर्न दिएको रु पाँच लाख नगद आफ्नो बनाउन चौधरीले लुटपाटको नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको हो । चौधरीले प्रहरीसमक्ष आफ्नो कर्तुत स्वीकार गरिसकेका प्रहरी निरीक्षक मिश्रले जानकारी दिनुभयो ।
चौधरी रामगोपालपुरमै मनि ट्रान्सफर सञ्चालन गर्दै आएका व्यापारी हुन् ।
