ब्राउनसुगर सहित चार भारतीय नागरिक पक्राउ

झापा : झापाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुई जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

प्रहरीले भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका भारत पश्चिम बङ्गालका ४२ वर्षीय निखिल विश्वासलाई तीन ग्राम ८०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

त्यसैगरी बुधबार बेलुका ७ बजे लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट सोही स्थानका ३६ वर्षीय बद्री राजवंशीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

यस्तै बुधबार दमक नगरपालिका–९ स्थित इटाभट्टाबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले २५ ग्राम ब्राउनसुगर र नगद रु १० हजारसहित दुई जनालाई पक्राउ गरेको थियो ।

ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।