एकताको सन्देश दिदैँ गुल्मीको एस पार्टी नै एमालेमा समाहित

गुल्मी । नेकपा (एमाले)का दुई शक्तिशाली पदाधिकारी रहेको जिल्ला गुल्मीमा माधव नेपालले नेतृत्व गर्नुभएको नेकपा (एकीकृत समाजवादी) का दुई केन्द्रीय सदस्यसहित गुल्मीको जिल्ला नेतृत्व नै एमालेमा समाहित भएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृह जिल्ला गुल्मीमा समाजजादीका गुल्मी जिल्ला इन्चार्ज समेत रहनु भएका केन्द्रीय सदस्य गणेश खनाल र अर्का केन्द्रीय सदस्य नरेश भण्डारीसहितको टोली एमालेमा समाहित भएको हो । भण्डारी जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।

गुल्मी जिल्लाको तम्घासमा एकता घोषणा कार्यक्रमको आयोजना गरेर उहाँहरुसहित जिल्ला नेतृत्व नै एमालेमा समाहित भएपछि गुल्मीमा अब एस पार्टीको अस्तित्व मेटिने अवस्थामा पुगेको छ । ज्ञवाली र विष्टको उपस्थितिमा आयोजित एकता घोषण सभालाई सम्वोधन गर्दै जिल्ला अध्यक्ष भण्डारीले कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेबाहेक अरुबाट सम्भव नभएकाले पुनः आफ्नै घर फर्किएको बताउनुभयो । निकै प्रफुल्ल देखिनु भएका उहाँले विगतमा भएका कमजोरीबाट पाठ सिक्दै आफ्नो घर फर्किने वातावरण बन्दा खुशी लागेको बताउनुभयो ।

उहाँले बामपन्थी भएर काँग्रेसलाई शक्तिमा लैजाने कुरा मञ्जुर गर्न नसकिने भन्दै त्यो गल्तीको भागिदार हुन नसक्ने पनि बताउनुभयो । खनाल र भण्डारीसहित नेकपा एस प्रदेश कमिटी सदस्य हिमाल थापा, युवा संघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसीकोट अध्यक्ष मदनदीउ घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी एमाले फर्किनु भएको छ ।

त्यस्तै नेकपा एसको युवा संघका जिल्ला अध्यक्ष रामुजंग कँडेल, विद्यार्थीका जिल्ला अध्यक्ष निलकण्ठ पाण्डे, पार्टीका छत्रकोट अध्यक्ष यमबहादुर खत्रीसहितको एमालेमा फर्किनु भएको जिल्ला अध्यक्ष बालसिंह काउचाले जानकारी दिनुभयो । एसबाट गठबन्धनका तर्फबाट रामकुमारी झाँक्रीको दाबी रहँदै आएको छ ।