सामुदायिक विद्यालयमा बस खरिद गर्न पूर्वविद्यार्थी र समुदायबाट सहयोग सङ्कलन

काठमाडौँ, मङ्सिर ६ । सामुदायिक विद्यालयमा विद्यार्थीको आवागमन सहज र सुरक्षित बनाउन झापाका दुई विद्यालयले बस खरिदका लागि पूर्वविद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको सहयोग जुटाउन थालेका छन् । मेचीनगर नगरपालिका ८ स्थित आदर्श माध्यमिक विद्यालय र भद्रपुर नगरपालिका ३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयले बस खरिद अभियान सञ्चालन गरी आर्थिक स्रोत जुटाइरहेका हुन् ।

आदर्श माध्यमिक विद्यालयका पूर्वविद्यार्थी समाजले सञ्चालन गरेको अभियानबाट हालसम्म १३ लाख ६० हजार रुपैयाँ सङ्कलन भएको छ । समाजका अध्यक्ष परशुराम पराजुलीको नेतृत्वमा सञ्चालित अभियानमा पूर्वविद्यार्थीबाट १० लाख तथा विद्यालयका शिक्षक र कर्मचारीबाट तीन लाख ६० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।

मेचीनगर नगरपालिकाले सामुदायिक विद्यालयलाई बस खरिद गर्दा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाको उक्त अनुदान उपयोग गरी बस खरिद गर्ने उद्देश्यले रकम सङ्कलन गरिएको र छिट्टै अनुदानका लागि प्रस्ताव पेस गर्ने तयारी भइरहेको शिक्षक जीआर धितालले जानकारी दिनुभयो ।

पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म एक हजार १०० भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा बाहुनडाँगीदेखि ज्यामिरगढीसम्मका विद्यार्थी आउने गरेका छन् । टाढाबाट आउने विद्यार्थीका अभिभावकले हाल अटोरिक्साको व्यवस्था गरेर विद्यालय पठाउने गरेको शिक्षक धितालले बताउनुभयो । विद्यालयको आफ्नै बस सञ्चालनमा आएपछि विद्यार्थीको आवागमन सहज हुने उहाँको भनाइ छ ।

यसैगरी, भद्रपुर नगरपालिका ३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयले पनि बस खरिदका लागि आर्थिक सहयोग जुटाइरहेको छ । विद्यालयले देउसी–भैलो कार्यक्रममार्फत सात लाख ९८ हजार ८०३ रुपैयाँ सङ्कलन गरेको जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शमशेर तामाङका अनुसार विद्यार्थीको आवागमनलाई सुरक्षित र सहज बनाउन विद्यालयमा आफ्नै बस आवश्यक भएको छ । बस खरिद अभियानमा विदेशमा रहेका शुभेच्छुक तथा पूर्वविद्यार्थीले समेत आर्थिक सहयोग गरिरहेका छन् ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको यातायात सुविधा विस्तार गर्ने उद्देश्यले स्थानीय समुदाय र पूर्वविद्यार्थीको सक्रियतामा आर्थिक स्रोत जुटाउने प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *