साफ च्याम्पियनमा नेपाललाई इतिहास रच्ने अवसर
काठमाडाैं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक साफ महिला च्याम्पियनसिपमा विजयीका लागि घरेलु दर्शकको साथ र समर्थन मिलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलिदेखि सुरु हुने उक्त च्याम्पियनसिपमा नेपाली टोलीलाई घरेलु दर्शकले साथ दिने भएको हो ।
साफ च्याम्पियनसिपमा नेपाली महिला टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०१० देखि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले उक्त च्याम्पियनसिप सुरु गरेको हो ।
बङ्गलादेशबाट सुरु भएको उक्त च्याम्पियनसिपको पाँचौँ संस्करणसम्म पनि नेपालले उपाधि जित्न सकेको छैन । पाँच पटकको सहभागितामा नेपाल चार पटकसम्म उपविजेतामै सीमित भएको छ ।
घरेलु मैदानमा दोस्रो पटक आयोजना गर्न लागेको छैटाैं संस्करणको खेलमा भने नेपाललाई नयाँ इतिहास रच्ने सुनौलो अवसर मिलेको छ ।
छैटाैं संस्करणको साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटान गरी सात राष्ट्र सहभागी रहेका छन् । यसलाई समूह ए र समूह बी गरि २ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह बी मा परेको छ ।
यही भदौ २१ गते साँझबाट शुरु हुने खेलमा नेपालले भूटानसंग सामना गर्नेछ । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ ।
यसपटकको साफ च्याम्पियनसिपमा नेपाली कप्तानीको जिम्मेवारी नियमित कप्तान रेनुका नगरकोटी घाइते भएका कारण २६ वर्षीय गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले पाएकी छिन् ।