पदमा रहँदा वा नरहँदा पनि सम्पदा संरक्षण र संर्वद्धनमा निरन्तर लागिरहन्छुः पूर्वमन्त्री डाक्टर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा–२१ स्थित इनाखा गणेश मन्दिर परिसरको सम्पदा निर्माण सम्पन्न भएको छ । आज पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य डा. अजय क्रान्ति शाक्यले ताम्रपत्र अनावरण गरी उद्घाटन गर्नुभयो ।

काठमाडौं निर्वाचन क्षेत्र नं. ९ (१) बाट निर्वाचित सांसद डा. शाक्यले बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८०७९ मा उक्त कार्यक्रम अन्तर्गत विनियोजित बजेट मध्ये ३४ लाख रकमबाट सो सम्पदा पुननिर्माण सम्पन्न भएको हो ।

उद्घाटनपछि सम्वोधन गर्दै सांसद शाक्यले आफ्नो कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रमा उल्लेखनीय रुपमा भौतिक पूर्वाधार, मूर्त–अमूर्त सम्पदाको निर्माण–पुननिर्माण, प्रर्वद्धन र संर्वद्धन जस्ता कार्यमा जोड दिएको बताउनुभयो ।

‘सांसद पद अस्थायी हो,’ उहाँले सम्वोधनका क्रममा भन्नुभयो, ‘त्यसैले सांसद रहँदा र नरहँदा पनि यहाँको विकास र समृद्धिका लागि निरन्तर सक्दो योगदान गर्ने छु । म तपाईँहरुका बिचमा यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

उहाँले सम्वोधनकै सिलसिलामा आफ्नो क्षेत्रका ९० प्रतिशत सम्पदा पुननिर्माणको काम सम्पन्न भएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा–२१ वडाका अध्यक्ष, सदस्यहरूसहितको उपस्थिति रहेको सो कार्यक्रम इनाखा युवा क्लबका अध्यक्ष बबी रञ्जितको सभापतित्वमा सम्पन्न भएको थियो । शाक्यले सो सम्पदा निर्माणमा सहयोगी भूमिका खेल्नु विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको थियो ।