कुमारीको रथयात्रा नजरका लागि राष्ट्रपति बसन्तपुरमा, रथयात्रामा सर्वसाधारणको चहलपहल
काठमाडौँ । ऐतिहासिक जीवित देवी कुमारीको रथयात्रा सुरु भएको छ । काठमाडौं, ओमबहालकी तृष्णा शाक्यलाई कुमारी घर अघिबाट रथमा राखेर कुमारी रथयात्रा सुरु भएको हो ।
परम्परा अनुसार इन्द्रजात्राको तेस्रो दिन अर्थात् आज भाद्रशुक्ल चतुर्दशीमा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथलाई काठमाडौंको क्वःने (तल्लो भेग) मा तान्ने चलन छ । रथयात्रा अघि राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमान ढोकास्थित गद्दी बैठकमा सवारी भई कुमारीको प्रसाद ग्रहण गरी रथयात्रा नजर गर्ने चलन छ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रवेश गर्नु अघिसम्म इन्द्रजात्रामा श्री कुमारीको रथयात्रा हुँदा गद्दी बैठकमा बसी जात्रा नजर गर्ने, कुमारीको प्रसाद ग्रहण गर्ने, नानीचायाःका दिन कुमारीघर गई श्री कुमारी, श्री गणेश र श्री भैरवबाट टीका ग्रहण गर्ने कार्य राजाका तर्फबाट गरिने चलन थियो । अहिले यी सबै धार्मिक साँस्कृतिक अनुष्ठानहरु राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिबाट सम्पन्न हुँदै आइरहेको छ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रवेश गर्नु अघिसम्म इन्द्रजात्रामा श्री कुमारीको रथयात्रा हुँदा गद्दी बैठकमा बसी जात्रा नजर गर्ने, कुमारीको प्रसाद ग्रहण गर्ने, नानीचायाःका दिन कुमारीघर गई श्री कुमारी, श्री गणेश र श्री भैरवबाट टीका ग्रहण गर्ने कार्य राजाका तर्फबाट गरिने चलन थियो
सोही चलन अनुसार आज कुमारी रथयात्रा राष्ट्रपतिको अवलोकनसँगै प्रारम्भ भएको हो । रथयात्रा प्रारम्भ गर्नु अघि लाखे, पुलुकिसि, सवः भक्कु, महाकाली नाच प्रदर्शन गरिएको थियो । क्वःने अर्थात् तल्लो भेगमा रथ तान्ने चलन अनुसार आज हुनमानढोका दरवार क्षेत्र परिसरबाट मरु त्वाः, भिमसेनस्थान, कोहिति, ह्युमतः टोल, वन्डे ब्रम्हटोल, गोफः, लगँ, न्हूघः (जोशी देगः) चिकँमुगः अट्कोनारायण हुँदै हनुमानढोका परिसरमै पुर्याएर समापन गरिएको छ ।
त्यसैगरी कुमारीको रथयात्रा चलाइने जैशीदेवलस्थित डबलीमा दीप्याखं प्रदर्शन गरिएको छ । आजै बेलुकी मरु टोलको छ्वासपाखाबाट दागिं निकाली थःने र क्वःनेको कुमारी तान्ने मार्गमा परिक्रमा गरि सोही ठाउँमा आई विसर्जन हुन्छ भने काष्ठमण्डप पछाडिबाट बौमत निकाली यो पनि थःने र क्वःने मार्गमा परिक्रमा गरि काष्ठमण्डप अगाडि नै ल्याउने गरिन्छ ।
विभिन्न दवी–देवताको नाच एवं पर्वहरुको एकीकृत पर्व इन्द्रजात्रा नेपालकै सर्वाधिक भब्य र धूमधामपूर्वक मनाइने सांस्कृतिक पर्व पनि हो । आठ दिनसम्म मनाइने यो पर्वको तेस्रो दिन अर्थात् भाद्रशुक्ल चतुर्दशीमा रथ तान्नुुअघि राष्ट्रप्रमुखले जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने चलन रहिआएको छ ।
आज कुमारी रथयात्रा नजरका लागि राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सेना, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, गृहमन्त्री बालकृष्ण खाँड, प्रदेश सांसद राजेश शाक्यलगायत पनि बसन्तपुर पुग्नुभएको थियो । त्यसैगरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल पनि बसन्तपुर पुग्नुभएको थियो ।
कुमारी रथयात्रा नजरका लागि प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, मन्त्रीहरु, काठमाडौँ क्षेत्र नम्बर, ७, ८, र ९ का संघीय र प्रदेश सांसदरु, काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका प्रमुख, विभिन्न देशका राजदूत, विदेशी नियोगका प्रतिनिधिलगायतले कुमारी रथयात्राको नजर गर्ने परम्परा छ ।
आज कुमारी रथयात्रा नजरका लागि राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सेना, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, गृहमन्त्री बालकृष्ण खाँड, प्रदेश सांसद राजेश शाक्यलगायत पनि बसन्तपुर पुग्नुभएको थियो । त्यसैगरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल पनि बसन्तपुर पुग्नुभएको थियो
उहाँहरुले लाखे नाच, पुलुकिसी नाच, आकाशभैरव र महाकाली नाच अवलोकन गर्नुभएको थियो । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने चलन छ । इतिहासमा उल्लेख भए अनुसार गद्दी बैठक बन्नु अघि मल्ल राजाहरु राजसिंहासन नै हनुमानढोका परिसरमा ल्याएर त्यहि चोकमा ७ दिनसम्म बस्ने चलन थियो ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा उठाएर सुरु भएको इन्द्रजात्रा आश्विनकृष्ण चौथीका दिन कुमारीको रथलाई काठमाडौंको माथिल्लो भेगमा रहेको किलागल टोलबाट तानेर जात्रा गरिन्छ । यस दिनलाई नानीचायाः भनिन्छ । उक्त दिनको जात्रा सकिएपछि कुमारीघरमा राष्ट्रप्रमुख सवारी भई श्री कुमारी, श्री गणेश र श्री भैरवको हातबाट टीका ग्रहण गर्ने चलन छ । सोही राति हनुमानढोकामा यःसिं ढालेर टेकु दोभानसम्म तानेर ल्याई त्यहीं सेलाउने गरिन्छ । यसरी हरेक वर्षको इन्द्रजात्रा समापन हुन्छ ।
इन्द्रजात्रा आठ दिन सञ्चालन हुने भए पनि त्यसको लागि आवश्यक तयारी भने धेरै अघिदेखि नै चलिरहेको हुन्छ । नालास्थित यः सिंख्यः गई यः सिं (इन्द्रध्वज) उठाउन रुख खोज्ने काम, दीप्याखं, लाखे नाच, पुलुकिसी नाच, आकाशभैरव, हल्चोकआदि देवी–देवताको नाच निकाल्ने तयारी पनि इन्द्रजात्रा भन्दा धेरै अघिदेखि गर्ने परम्परा छ ।