च्याउखेतीले दिलायो आत्मनिर्भरताको बाटो

श्रीमान् गुमाएपछि सुरु गरेको व्यवसायबाट पार्वती थापाले वर्षमा दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै छोराहरूलाई पढाइरहेकी छन्

कञ्चनपुर, १८ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँकी एकल महिला पार्वती थापा व्यावसायिक च्याउखेतीमार्फत आत्मनिर्भर बनेकी छन् । विसं २०६९ मा श्रीमान् गुमाएपछि जीविकाको बाटो खोज्दै च्याउखेतीमा लागेकी उनी अहिले पाँचवटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै छन् ।

सात वर्षअघि सामान्य जानकारीका भरमा सुरु गरिएको खेती आज उनको घरखर्च र दुई छोराको पढाइ खर्चको मुख्य आधार बनेको छ ।

‘अरूसँग पैसा माग्नुपर्ने अवस्था आयो’

श्रीमान्को निधनपछि सानातिना खर्चका लागि समेत अरूसँग हात थाप्नुपर्ने बाध्यताले उनलाई भित्रैदेखि पोल्यो ।

“श्रीमान् बितेपछि केही गर्न पनि अरूसँग पैसा माग्नुपर्ने अवस्था आयो, अरूले पैसा छैनभन्दा नराम्रो लाग्थ्यो,” विगत सम्झँदै उनले भनिन्, “अरूलाई पैसा माग्नुभन्दा आफैँ केही गरेर आत्मनिर्भर बन्ने सोच आयो ।”

केही गर्नैपर्छ भन्ने हुटहुटी चलिरहेका बेला आफन्तले दिएको च्याउले उनको ध्यान तान्यो । च्याउखेतीबाटै आत्मनिर्भर बन्न सकिन्छ कि भन्ने लागेपछि उनले यसैमा हात हालिन् ।

किताब पढेर मात्रै सफल भइएन

सुरुआती दिन सहज थिएनन् । बीउ कहाँ पाइन्छ भन्नेसम्म थाहा थिएन । कृषि विज्ञान अध्ययन गर्दै गरेका छोराले एउटा च्याउखेतीसम्बन्धी किताब ल्याइदिएपछि उनले त्यसैको भरमा खेती थालिन् । तर अपेक्षित सफलता मिलेन ।

“आफैँले गरे जस्तो किताब पढेर मात्र नहुँदो रहेछ,” उनले भनिन्, “सुरुआतमा पाँचवटा पोका च्याउ राखेको थिएँ, कसरी राख्ने भन्ने ज्ञान नहुँदा त्यो सबै खेर गयो ।”

पहिलो प्रयास असफल भए पनि उनले हार मानिनन् । अर्को वर्ष कृषि ज्ञान केन्द्र र अन्य च्याउ किसानसँग सिकेपछि भने राम्रो उत्पादन भयो । उनले गाउँमा च्याउखेती गरेका सबैका फार्म चहारिन् र उनीहरूले पनि खुलेर सहयोग गरे ।

“सुरुमा कसरी पराल काट्ने, कसरी राख्ने, कसरी उमाल्ने केही थाहा थिएन,” उनले भनिन् ।

नाफा फेरि व्यवसायमै

आम्दानी हुन थालेपछि उनले प्रत्येक वर्षको नाफा व्यवसाय विस्तारमै लगाउँदै आएकी छन् । “अहिलेसम्म आफ्नो पैसा च्याउखेतीमा लगानी गरेको छैन, बिक्रीबाट आएको नाफाबाट थप खेती गर्छु,” उनले भनिन् ।

उनका अनुसार हाल लगानी कटाएर करिब ५० प्रतिशतसम्म नाफा हुने गरेको छ । वर्षमा करिब १५ सय केजी च्याउ बिक्री हुन्छ, जसबाट वार्षिक दुई लाख रुपैयाँसम्म आम्दानी हुन्छ । “च्याउखेतीबाट घरखर्च र दुई छोराको पढाइ खर्च चलेको छ,” उनले भनिन् ।

हिउँद र वर्षा याममा उनी च्याउ फलाउँछिन् । सिजनअनुसार कन्ने र मिल्की च्याउ उत्पादन हुन्छ भने यस वर्षदेखि डल्ले च्याउ पनि उत्पादन गर्ने तयारीमा छिन् । कृषि विज्ञान पढ्दै गरेका छोराले पनि खेतीमा सघाउने गरेका छन् ।

हावाहुरीले उडाउँथ्यो छाना, ज्ञान केन्द्रले दियो साथ

सुरुमा बाँसको टहरा बनाएर खेती गर्दा हरेक वर्ष हावाहुरीले छाना उडाउने समस्या झेल्नुपरेको उनले सुनाइन् । कृषि ज्ञान केन्द्रले च्याउखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जानकारी पाएपछि निवेदन दिइन् र सहयोग पाइन् ।

“ज्ञान केन्द्रबाट सहयोग प्राप्त भएपछि च्याउखेतीलाई व्यवस्थित रूपमा अघि बढाउन सहज भयो,” उनले भनिन् ।

बजारमा आयातित च्याउको चुनौती

उत्पादन अझै बढाउन सक्ने भए पनि बजारले साथ नदिएको थापाको गुनासो छ । बाहिरी जिल्लाबाट आउने च्याउ सस्तो पर्ने भएकाले स्थानीय उत्पादकले मेहनतअनुसारको मूल्य नपाउने उनको भनाइ छ ।

“धेरै उत्पादन बढाउने सोच थियो, यहाँ बाहिरी जिल्लाबाट आउने च्याउ सस्तो हुन्छ, हामीले मेहनतले उत्पादन गरेको मूल्य पाइँदैन,” उनले भनिन्, “स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्रवर्द्धन गरेर सहयोग गर्नुपर्छ ।”

उत्पादन बढाउने सम्भावना हुँदाहुँदै पनि बजार मूल्य सुनिश्चित नहुँदा व्यवसाय विस्तारमा चुनौती कायमै रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *