नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ७ सय खेलाडी सहभागी हुँदै

 

काठमाडौं : गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ७ सय बढी खेलाडी सहभागी हुने भएका छन् ।

नवौँ राष्ट्रिय खेलकुदमा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिमले भाग लिने प्रदेश खेलकुद परिषद्ले जानकारी दिएको छ ।

खेलाडी छनोटका लागि एक हजार दुई सय ८३ पुरूष र आठ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको र यीमध्येबाट ७ सय ९ खेलाडी सो प्रतियोगितामा भाग लिनका लागि छनोट हुने जनाइएको छ ।

एक सय ९४ खेलाडी भने खेलका लागि सोझै छनोट हुने भएका छन् ।

सो प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीबाट आवेदन माग गरिएको थियो ।
आवेदन दिएकामध्येबाट विभिन्न खेलका लागि आवश्यक सङ्ख्यामा खेलाडी छनोटको काम आगामी सातादेखि हुने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट अन्तर्राष्ट्रिय र स्थानीय रेफ्री तथा निर्णायक गरी चार सय ७२ खेल पदाधिकारी सहभागी हुने जनाइएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट एक हजार चार सय ८१ जनाको टोली गण्डकी प्रस्थान गर्ने बताइएको छ ।

प्रदेश खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेल सकिएको भोलिपल्टसम्म दैनिक रु दुई हजारका दरले भत्ताको व्यवस्था गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *