मातृघर फर्किएका बालकृष्ण भन्नुहुन्छ–‘ओलीको नेतृत्वमा अब सबै सच्चा कम्युनिष्ट एउटै धूरीमा’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अर्थ विभागका उपप्रमुख डा. बालकृष्ण चापागाईँ नेकपा एमालेमा फर्किनु भएको छ । एमाले विभाजनसँगै नेकपा एसमामा लाग्नु भएका चपागाईँ प्रेस चौतारीको दुई कार्यकाल केन्द्रीय अध्यक्ष तथा राससको कार्यकारी अधयक्ष भइसक्नु भएको थियो ।

उहाँलाई आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताले स्वागत गर्नुभएको हो । पार्टी प्रवेशपछि मैत्रीन्युजसँग कुराकानी गर्दै उहाँले विद्रोह र विभाजन अग्रगमनको बाधक भएको ठहर गर्दै मातृघरमा फर्किएको जानकारी दिनुभयो ।

‘कुनै परिस्थितिमा हामीले एमालेबाट विद्रोह गरेका थियौँ । एमालेमा गरेको विद्रोहसँगै म नेकपा समाजवादीको केन्द्रीय सदस्य र अर्थ विभागको उपप्रमुखको समेत जिम्मेवारीमा थिएँ,’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय विद्रोह र विभाजन अग्रगमनको बाधक भएको ठहर गर्दै कम्युनिष्ट फुटेर होइन जुटेर मात्रै समृद्धिको सपना पूरा गर्न सकिन्छ भनेर एमालेमा फर्किएको हुँ ।’

समृद्धिको सपना पूरा गर्ने कुराको नेतृत्व एमालेबाट मात्रै सम्भव भएकाले पनि एमाले फर्किएको उहाँको भनाई छ । ‘अहिले मुलुकको राजनीतिमा यथास्थितिवादी, दक्षिणपन्थी पूँजिवादी र परिवर्तनगामी गरी तीन खालको शक्ति रहेको छ,’ उहाँले भन्नुभयो, ‘चाहेर वा नचाहेर पनि अग्रगमन, परिवर्तनगामी र सामाजिक रुपान्तरणका लागि नेतृत्व गर्ने शक्ति भनेको एमाले र केपी ओली नै हुन भन्ने कुरामा दुइमत रहेन । यी सबै कुराको निक्र्यौल गर्दै म मतृघर फर्केको हुँ ।’

उहाँले मुलुकको समृद्धिका लागि सबै कम्युनिष्ट एकै धूरीमा आउनुपर्नेमा जोड दिनुभयो । ‘सबै सच्चा कम्युनिष्टहरु एउटै धूरीमा आउनुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘त्यसको नेतृत्व अब एमाले र त्यसमा पनि जीवनको उत्तरार्धमा केपी ओलीले नै गर्नुपर्छ ।’ उहाँले त्यसका लागि सबैले पूर्वाग्रह त्याग्नुपर्नेमा जोड दिनुभयो । उहाँले वामपन्थी प्रगतिशील धारको नेतृत्व एमालेले गरिरहेको र अन्य कम्युनिष्टहरु त्यसैको वरीपरी मात्रै घुमिरहेको बताउनुभयो ।