यू–२० एसियन कपमा कतारसँग नेपाल पराजित

काठमाडौं : एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपालको लगातार दोस्रो हार भएको छ ।
सोमबार राति भएको खेलमा कतारसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपालले हार व्यहोरेको हो ।

बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा कतारविरुद्ध नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो ।

दोस्रो हाफमा नेपालले एक गोल फर्काउदा थप एक गोल व्यहोरेको थियो। खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३–० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरेपनि कतार ३–१ ले विजयी भएको थियाे ।

यस अघि पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो ।

भोलि नेपालले आयोजक बहराइनसँग खेल्नेछ भने अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।