साफ यू–१७ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित
काठमाडाैं : श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।
श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बनेकाे छ ।
भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे ।
खेलको १८ औँ मिनेटमा बोबीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३० औँ मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए । खेलको ३९ औँ मिनेटमा नेपाल १० खेलाडीमा समेटियो ।
खेलको ६३ औँ मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अमनले गोल गर्दै भारतलाई ४–० को जित दिलाए ।
नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।
