मैले दिएको बरदान मेरै टाउकोमा हात राखेर प्रचण्डले मलाई भस्म पार्न खोजेः ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग होसियार हुँदाहुँदै पनि राजनीतिमा ठूलो बेइमानी गरेको आरोप लगाउनु भएको छ । आज एमाले मुख्यालय च्यासलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो आरोप लगाउनु भएको हो ।

‘प्रचण्डलाई मैले बलियो बामपन्थी आन्दोलन बनाऔँ, बलियो कम्युनिष्ट पार्टी बनाऔँ समाजवादतिर अगाडि बढौँ, एकतावद्ध भएर अगाडि बढौँ भनेर अध्यक्ष बनाएर,’ उहाँले भन्नुभयो, ‘मान–सम्मानका साथ एकतावद्ध भएर जाऔँ भनेर मेरो सिटको छेउमा राखेको थिएँ । मैले हात मिलाएको मात्रै होइन प्रचण्डलाई अँगालो हालेको थिएँ । तर, प्रचण्ड हात लुकाइ–लुकाई हिँड्थे । म अलिअलि होसियार त थिएँ । नभन्दै मैले ग्वाम्म अगाँलो हालेँ प्रचण्डले ग्वाम्म छुरी हाने ।’

उहाँले आफूले एकता एकीकरण भनेर पार्टी बलियो बनाउनुपर्छ भने पनि प्रचण्डले भने आफूलाई साधारण सदस्यबाट निकाल्ने हर्कत गरेर राजनीतिक बेइमानी गरेको आरोप लगाउनु भयो । ‘प्रचण्ड कस्तो विषालु दाँत पालेर बसेका रहेछन् । म पार्टी एकता गर्ने, उनलाई अध्यक्ष बनाउने । महाधिवेशनसम्म पर्खिनु न त भन्ने,’ उहाँले भन्नुभयो, ‘उनी मसँग बहुमत पुग्यो बहुमत पुगेका बेला निकाल्छु भन्ने । एकीकरणका लागि मैले दिएको बहुमत, मैले दिएको बरदान मेरै टाउकोमा हात राखेर भस्म पार्न खोज्ने ?’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला सहईन्चार्ज यमबहादुर परियारसहित निकै ठूलो संख्यामा नेकपा (एमाले) प्रवेश गरेका थिए ।
एमाले प्रवेश गर्नेहरूमा प्रदेश कमिटी सदस्य अन्जनकुमार तिमिल्सिना, पिताम्वर पोखरेल, तुलबहादुर विक, गिरिधारी सुवेदी, लावन्यराज शर्मा, नारायणप्रसाद अधिकारी, गोविन्दप्रसाद अधिकारी, आकाश थापा, सुरेश थापा, बुद्धिबहादुर लामा, रामप्रसाद सापकोटा, हेमबहादुर गुरूङ र कृष्ण अधिकारी हुनुहुन्छ ।

यसैगरी, काठमाडौंमा करिव तीनदशकदेखि बामपन्थी राजनीतिमा क्रियाशील राजेन्द्र प्रधान, किरण तुलाधर, आनन्दप्रसाद जोशी, अशोक श्रेष्ठ, हिराशोभा महर्जन, रविन्द्र महर्जन लगायत पनि एमालेमा प्रवेश गर्नुभएको थियो । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर जिल्लाका उपाध्यक्ष विक्रान्त सुवेदी र नेपाली काँग्रेस जिल्ला कार्य समिति नुवाकोटका सदस्य रामकुमार प्याकुरेललाई पनि अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो ।

सो कार्यक्रममा नवप्रवेशी माओवादी केन्द्रका केन्द्रीय सदस्य परियारले नेकपा (एमाले) नै नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको र यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीले थाल्नुभएको एकीकरण प्रक्रियालाई जनस्तरबाटै पूरा गरिने छ भन्नुभयो । त्यसैगरी नवप्रवेशी प्रधानले आफू २०५० सालसम्म नेकपा एमालेमै क्रियाशील रहेको र केही असन्तुष्टिका कारण बाहिर रहे पनि अहिले एमालेमा पुनरागमन भएको हो भन्नुभयो । कार्यक्रममा पार्टीका उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुरेन्द्र पाण्डे, सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।