पढाइ खर्च जुटाउन पेन्टिङ गर्दै डडेल्धुराका युवा
डडेल्धुरा, ८ कात्तिक । पढाइ खर्च जुटाउन डडेल्धुराका एक युवा पेन्टिङको काम गर्दै आएका छन्। अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराईले पेन्टिङ गरेर मासिक २५ हजार रुपैयाँ बचत गर्दै स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यलाई अघि बढाइरहेका छन्।
१२ कक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्ने उद्देश्यसहित उनले करिब सात महिनादेखि पेन्टिङको काम गर्दै आएका हुन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले पढाइ खर्चका लागि परिवारमाथि मात्रै निर्भर हुन नसकेपछि काम सुरु गरेको दीपक बताउँछन्।
घरका जेठा छोरा दीपकका भाइ पनि अध्ययनरत छन्। बुबाआमा खेतीपातीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन। यस्तो अवस्थामा पढाइ र कामलाई सँगसँगै अघि बढाउन चुनौती भए पनि आफ्नो भविष्य निर्माणका लागि दुवैलाई निरन्तरता दिने उनको योजना छ।
दीपकजस्तै अमरगढी–७ का शिवराज भट्टराई पनि पेन्टिङबाट राम्रो आम्दानी गर्दै आएका छन्। छ वर्षअघि खाली समयमा पेन्टिङ गर्न थालेका उनले अहिले यसैलाई मुख्य पेसा बनाएका छन्।
शिवराजका अनुसार पेन्टिङबाट मासिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ। उनले महिनामा करिब चारदेखि पाँचवटा घरमा पेन्टिङ गर्ने गरेका छन्। आठ जनाको समूहमा काम गर्दै आएका उनले आवश्यकताअनुसार अरूलाई पनि पेन्टिङको सीप सिकाउने गरेका छन्। यद्यपि, बर्खायाममा एकदेखि दुई महिनासम्म काम नपाइने समस्या रहेको उनी बताउँछन्।
अमरगढी–७, पोखराका २९ वर्षीय चेत विक पनि पेन्टिङको काममा संलग्न छन्। रोजगारीको खोजीमा दुई वर्ष भारत बसेर फर्किएका उनले आफ्नै ठाउँमा पेन्टिङको सीप सिकेर काम सुरु गरेका हुन्। करिब एक वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका विक आफ्नै ठाउँमा श्रम गरेर आम्दानी गर्न पाउँदा सन्तुष्ट छन्। उनी अन्य युवालाई पनि सम्भव भएसम्म आफ्नै ठाउँमा सीप सिकेर काम गर्न सुझाव दिन्छन्।
यी युवाको अनुभवले सीपमूलक काम पढाइ खर्च जुटाउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने माध्यम बन्न सक्ने देखाएको छ। स्थानीयस्तरमा सीपमूलक तालिम, रोजगारीका अवसर र युवालाई प्रोत्साहन गर्ने कार्यक्रम विस्तार गर्न सके पढ्दै काम गर्ने वातावरण निर्माण हुनुका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउनसमेत सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ।
