राष्ट्रिय खेलकुदको ट्रफी आज सार्वजनिक
काठमाडौं : गण्डकी प्रदेशमा आयोजना हुने भनेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ट्रफी सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रफी सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय खेलकुद परिषद्का संरक्षकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।
सरकारले पहिलो पटक करिब १० लाख रुपैयाँ खर्च गरेर विजेता टिमका लागि रनिङ ट्रफीको निर्माण गरेको हो ।
लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफुसँग राख्न पाउनेछ ।
अब नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागिय टोलीमा पुर्याईने छ ।
ट्रफी टुर अन्तर्गत शुक्रबार साँझ सुदुरपश्चिमको धनगढी, शनिबार धनगढी रंगशालालगायत गरि असोज ३ गते बागमती प्रदेशको हेटौडा, असोज ७ गते नेपाली सेना मुख्यालय जंगी अड्डा, असोज ८ गते प्रदेश १ को विराटनगर, असोज ९ गते नेपाल प्रहरीको हेडक्वाटर नक्साल, सशस्त्र प्रहरीको हलचोक पुर्याइने भएकोे छ ।
यस्तै, असोज ११ गते कर्णालीको सुर्खेत, असोज १३ गते मधेश प्रदेश रामजानकी मन्दिर र असोज २३ गते गण्डकी प्रदेशको पोखरा पुर्याईने छ । पोखरामा एयरपोर्टबाटै झाँकीसहित ट्रफी टुर गराई टुर अन्त्य गरिने छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एक एनआरएनए गरि ११ टिमले सहभागीता जनाउनेछन् ।
