नेपाली संगीतमा साक्साेफोनलाई स्थापित गरेका संगीतकर्मी शुभबहादुर सुनामको निधन
काठमाडौं : नेपाली संगीतका चर्चित संगीतकर्मी शुभबहादुर सुनामको निधन भएको छ । सोमवार विहान ५ बजे वीरेन्द्र सैनिक अस्पतालमा उहाँको निधन भएको हो । उहाँ ७४ वर्षको हुनुहुन्छ ।
उहाँ लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुुन्थ्यो । पारिवारिक स्रोतका अनुसार राति असहज भएकोले उहाँलाई अस्पताल लगिएको थियो भने अस्पतालमा उपचार गर्दागर्दै उहाँको निधन भएको हो ।
संगीतकर्मी शुभबहादुर सुनाम नेपाली संगीतमा साक्सोफोनलाई स्थापित गर्ने संगीतकारका रुपमा परिचित हुनुहुन्छ । उहाँको संगीतमा चर्चित नेपाली गायकहरु नारायणगोपाल, प्रेमध्वज प्रधान, तारादेवी, मीरा राणा लगायत भारतीय कलाकारहरु अनुराधा पौडवाल, कविता कृष्णमूर्तिले समेत गाउनुभएको छ ।
उहाँले संगीत भर्नुभएका गीतहरुमा पर्खिबसेँ आउला भनी, हुँ यात्री एउटा, पर लैजाउ फूलहरु, फूलै फूलको मौसम तिमीलाई, रेली माई रेली माई, चिसो चिसो हावामा आदि अत्यन्त चर्चित छन् ।
संगीतकै माध्यमबाट नेपाली सेनामा प्रवेश गर्नुभएका सुनाम सेनामा जर्नेलसम्मको पदमा पुगेर सेवा निवृत्त हुनुभएको थियो । उहाँको आजै सैनिक सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
अन्तिम श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीरलाई नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राख्ने कार्यक्रम रहेको भए पनि प्रतिष्ठानले त्यसको लागि अनुमति नदिएकाले सिधै आर्यघाट लगिएको थियो । वहाँलाइ आर्यघाटमा कलाकारहरूले साक्साेफोन बजाएर अन्तिम श्रद्धाञ्जलि ब्यक्त गरेका थिए ।
संगीतकार सुनामको निधनमा बागमती प्रदेशका पूर्व मन्त्री एवं संगीतकार डा. अजयक्रान्ति शाक्यले दुःख व्यक्त गर्नुभएको छ । डा. शाक्यले एक शोक सन्देश जारी गर्दै भन्नुभएको छ, ‘संगीतकार सुनाम अथक संगीत साधकका साथसाथै अत्यन्त भद्र व्यक्ति पनि हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली संगीतले एक ठूलो साधकलाई गुमाएको छ ।’
डा. शाक्यले संगीत भर्नुभएका करिब ३० वटा गीतमा पनि संगीतकार सुनामले साक्सोफोन बजाउनुभएको थियो ।
