टेण्डर नपरेपछि ढुवानी भएन तुलसीपुरमा चामल
दाङ, ७ असाेज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरमा टेण्डर (बोलपत्र) नपरेपछि चामल ढुवानी गर्न सकेको छैन ।
कम्पनीले दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो । तर कसैले चामल ढुवानीका लागि टेण्डर नहाल्दा अन्योलमा परेकाे छ ।
पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताउनुभयो । उहाँका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो ।
पहाडी जिल्लामा चामल पुर्याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब चार हजार आठ सय क्विन्टल चामल यहाँ मौज्दात छ । टेण्डर नपरेपछि अहिले कार्यालयले आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामल पठाएको छ ।
ढुवानी रकम महँगो भएकाले पनि टेण्डर हाल्न नमानेको हुनसक्ने उहाँले बताउनुभयो । “अहिले पेट्रोलको मूल्य बढेको छ, ढुवानी मूल्य बढाउन सकिएको छैन”, सुनारले भन्नुभयो ।
चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाइएको छ । चालममा प्रतिकिलो रु सातका दरले छुट दिएको उहाँले बताउनुभयो । बास्मती चामलको मूल्य प्रतिकिलो रु एक सय तीन, जिरा मसिनो प्रतिकिलो रु ६० र सोना मन्सुलीको मूल्य प्रतिकिलो रु ४३ पर्छ ।
दाङमा धान प्रसस्त फल्छ । सुनारका अनुसार दाङमा कम्पनीको चामल वार्षिक दुई सय क्विन्टल मात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल खपत हुन्छ ।
खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउनेबारे जानकारी नभएर पनि बजारबाट किन्ने गरेको उहाँको भनाइ छ । तुलसीपुरमा कम्पनीको गोदममा पाँच हजार क्विन्टल चामल भण्डारण गर्न सकिने कार्यालयले जनाएको छ ।