विदेशबाट फर्किएर भेडापालन, विदेशमा भन्दा स्वदेशमा राम्रो कमाइ

तेह्रथुम, ७ असाेज । तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकुका सुमन गुरुङले विदेशमा भन्दा स्वदेशमा राम्रो कमाइ गर्न थाल्नुभएको छ ।

दुई वर्ष अगाडि चार वर्ष विदेश बसेर घर फर्कनुभएका २७ वर्षीय गुरुङले स्वदेशमा नै भेडापालन गरे विदेशमा भन्दा राम्रो कमाइ गर्न थाल्नुभएको हाे ।

कोरोनाका कारण घर फर्कनुभएका गुरुङ अब के गरेर जीवन चलाउने भन्ने सोचमा हुनुहुन्थ्यो । त्यत्तिकैमा आफ्नो पुख्र्यौली पेशा रहेको तर हाल लोपोन्मुख हुँदै गएको भेडापालन गरेर पनि आम्दानी लिन सकिने उहाँको मनमा आयो ।

त्यसैले विदेशबाट आएपछि आफ्नै गाउँ–ठाउँमा केही गर्ने मनसाय भएका गुरुङलाई स्थानीय संस्था देउराली सोसाइटीले जागरुक बनाउन मद्दत गर्यो ।

अहिले भेडापालनबाट गुरुङले मासु र राडीपाखी बेचेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ । एउटै थुमालाई रु २० हजारदेखि रु ३० हजारसम्ममा बेच्ने गरेको गुरुङले बताउनुभयो ।

खसी, बोका, बङ्गुरभन्दा पनि भेडा बढीमा बिक्री हुने उहाँ बताउनुहुन्छ । हाल गुरुङसँग ५० भन्दा बढी भेडा छन् ।

गुरुङले घर नजिकै गोठ बनाएर अहिले भेडा पाल्नुभएको छ । परिवारका आठ सदस्यको लालनपालन खर्च भेडापालनबाट हुने आम्दानीबाट चल्दै आएको उहाँले बताउनुभयो ।

“घरखर्च कटाएर केही रकम बचत हुन्छ”, गुरुङले भन्नुुभयो, “अन्य व्यवसायभन्दा बढी आम्दानी हुने गरेको छ ।” गुरुङले भेडापालनबाट वार्षिक रु तीन लाखको हाराहारीमा आम्दानी हुने गरेको बताउनुभयो ।

देवी–देवतालाई बलि दिन र विभिन्न चाडपर्वमा खानका लागि भेडा किन्न ग्राहक गुरुङको घरमै आउने गरेका छन् । गाउँछेउकै जङ्गलमा प्रशस्त घाँसपात रहेकाले भेडापालन सहज भएको उहाँ बताउनुहुन्छ ।

“बिक्रीका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमै आएर लैजान्छन् ।” आफ्नै गाउँठाउँमा मेहेनत गरियो भने विदेशमा भन्दा राम्रो कमाइ हुने भएकाले विदेश नजान गुरुङ अरुलाई सुझाव दिँदैआउनु भएको छ ।