एमालेका पदाधिकारीको उम्मेदवारी

झापादेखि कैलालीसम्म, ताप्लेजुङदेखि गुल्मीसम्मः उम्मेदवारी दर्ताको माहोल र प्रतिवद्धता (तस्बिरसहित)

काठमाडौँ, २३ असोज । नेकपा (एमाले)का पदाधिकारीले आ–आफ्नो निर्वाचन क्षेत्र पुगेर उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा र महासचिव शंकर पोखरेलले दाङबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा (एमाले) अध्यक्ष  ओलीले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उमेदवारी दर्ता गराउनु भएको छ । यो उहाँको गृहजिल्ला पनि हो ।

उहाँले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो । आफ्नो उम्मेदवारी दर्ताका लागि अध्यक्ष शनिबार नै झापा आइपुग्नुभएका ओलीले उम्मेदवारी दर्तापछि मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याउने बताउनु भयो ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । नेता पोखरेलसँगै प्रदेशसभा सदस्यहरुले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्ता गर्नु अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पोखरेलले मंसिर ४ गते हुने निर्वाचनमा आफुसहित एमालेका उम्मेदवारहरु विजयी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । दर्तापछि उहाँले आफूले जनतासँग गरेका प्रतिबद्धताहरू कार्यान्वयन गर्दै आएको बताउँदै विजयीपछि आफूले गरेका वाचा र प्रतिबद्धताहरू कार्यान्वन गर्ने बताउनुभयो ।

अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे अहिले आमाको देहवासनपछि शोकमा हुनुहुन्छ । उहाँले आजै सामाजिक सञ्जालमामा आफ्ना भनाई सार्वजनिक गर्दै आफू आमाको देहावसानको १२ औं दिनका कारण स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएको भन्दै वारेसवाट उम्मेदवारी दाखिला गरेको बताउनु भएको छ ।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि आजै इलामा इलाम क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएको छ । तीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा वादल र युवराज ज्ञवाली भने यो पटक कतैबाट पनि चुनावी मैदानमा हुनुहुन्न ।

एमाले महासचिव शंकर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ । हजारौँको संख्यामा बाजागाजा र झाँकीसहित उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उहाँले पनि उम्मेदवारी दर्तासँगै एमालेको बहुमत निश्चित भएको बताउनुभयो । उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

अर्का उपमहासचिव पृथ्वी शुब्वा गुरुङले लमजुङबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले प्रदेशमा उठ्ने चाहना राखे पनि पार्टी नेतृत्वले संघमा उठ्न आग्रह गरेपछि उहाँ संघमा उम्मेदवार बन्नुभएको हो । अर्का उपमहासचिव विष्णु रिमालले कतैबाट पनि उम्मेदवारी दिनुभएको छैन ।

सचिव गोकर्ण विष्टले गुल्मी २ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले उम्मेदवारी दर्तापछि सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘गुल्मीको थप विकास र जनताको सेवाका लागि नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएको छु । सम्पूर्ण दाजुभाई दिदिबहिनीको हितमा साझा प्रतिनिधिको रुपमा थप भूमिका निर्वाह गर्नेछु । सहयोग, सद्भाव र मतका लागि सबैमा हार्दिक अनुरोध गर्दछु ।’

अर्का सचिव योगेश भट्टराईले ताप्लेजुङबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा उहाँले दोस्रो पटक उम्मेदवार बन्नुभएको हो । यसअघि २०७४ को निर्वाचनमा पनि ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा भट्टराई निर्वाचित हुनुभएको थियो । उहाँले पनि उम्मेदवारी दर्तापछि सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज मनोनयन पत्र दर्ता गरिएको छ । मैले नेकपा एमालेका तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि मनोनयन पत्र पेश गरेको छु । संगै ताप्लेजुङ जिल्लाको प्रदेश क मा नेकपा एमालेका नेता तिलकुमार मेन्याङबो र प्रदेश ख मा नेकपा एमालेका नेता गोपाल थोप्राले मनोनयन पत्र पेश गर्नु भएको छ । ताप्लेजुङका सम्पूर्ण मतदाताहरुमा सूर्य चिन्हमा मतदानका लागि अनुरोध गर्दछु । देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईमा आबश्यक सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्दछु ।’

सचिव पद्मा अर्याल स्याङ्जा क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ दोस्रो पटक चुनाव लड्दै हुनुहुन्छ ।

टोपबहादुर रायमाझीले अर्घाखाँची र लेखराज भट्टले कैलाली ४ बाट उम्मेदवारी दिनुभएको छ । त्यसैगरी छविलाल विश्वकर्मा रुपन्देही १ बाट उम्मेदवारी दिनुभएको छ ।