न्युजिल्यान्ड संग पाकिस्तान ९ विकेटले पराजित
एजेन्सी, २५ असाेज । न्युजिल्यान्डमा जारी रहेकाे पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेशबीचको टी-२० ट्राइसिरिज खेलमा पाकिस्तानले पहिलो हार बेहाेरेकाे छ।
मंगलबार भएको तेस्रो खेलमा न्युजिल्यान्डसँग पाकिस्तान ९ विकेटले पराजित भएकाे हाे।
क्राइस्टचर्चमा टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३० रन बनाएको थियो।
पाकिस्तानका लागि आसिफ अलीको २५ रन सर्वाधिक रह्यो। त्यस्तै, मोहम्मद रिजवानले १६ रन बनाउँदा कप्तान बाबर अजामले २१ रन बनाए।
त्यस्तै, इफ्तिखर अहमेदले २७ रन जोड्दा सन मसुदले १४ रन बनाएका थिए। पाकिस्तानविरुद्ध कसिलो बलिङ गरेको न्युजिल्यान्डका लागि टिम साउदी, मिचेल स्यान्टनर र माइकेल ब्रसवेलले समान २-२ विकेट लिएका थिए।
१ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डका लागि ओपनर फिन एलन र डेभन कनवेले सानदार ब्याटिङ गर्दै टिमको जित निश्चित गरेका थिए।
उनीहरूले पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारी गरे। एलन ४२ बलमा ६२ रन बनाएर आउट हुँदा कनवे ४९ रन बनाएर नटआउट रहे।
त्यस्तै, कप्तान केन विलियमसन ९ रनमा अविजित रहेका थिए। सिरिजमा पाकिस्तान र न्युजिल्यान्डले समान २-२ जित निकाल्दा बंगलादेश जितविहीन छ।
