हालसम्म एक्लै लडिरहेका पुटिन ‘क्रेच स्ट्रेट ब्रिज’ ध्वस्त हुने बित्तिकै बदला लिन उत्रिएका हुन् ?
काठमाडौं, २६ असोज ।
एस आर छिपा
२३० दिन अघि रसियाले युक्रेनमा दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दियो। आफ्नो भाषा र संस्कृति मेल खाने डोनबास र लुहान्स्कलाई रसियाले स्वतन्त्र राज्य घोषणा गरेसँगै विश्वलाई नै प्रभावित हुने गरि दुई देशबिच युद्ध सुरु भयो। २३० दिनसम्म आइपुग्दा यो युद्धको छिटा रसिया र युक्रेनमा मात्रै परेको छैन। सारा विश्व युद्धका कारण त्रसित बन्न पुगेको छ।
कोरोना महामारीको पीडाबाट विस्तारै माथि उठ्दै गरेका राष्ट्रहरु युद्धका कारण चरम आर्थिक संकटमा पिल्सिएका छन्। तेलको मूल्य बढ्दा खाद्यान्नको भाउ पनि ह्वात्ते बढेको छ। साना र गरिब राष्ट्रमात्रै होइन धनी भनिएका राष्ट्रसमेत अहिले यसकारण आफ्नो अर्थतन्त्र बचाउन लागिपरेका छन्। युद्ध सुरु भएको २०० दिन कटिसक्दा यो संकट थप बढ्ने देखिएको छ।
केहीदिन अघिमात्रै क्रिमिया र रसिया जोड्ने एकमात्र पुल (क्रेच स्ट्रेट ब्रिज)माथि आक्रमण भयो। जसले सडकमार्गमात्र धवस्त गरेर रेल गुड्दै गरेको ‘ट्रयाक’ समेत धवस्त बनायो। रेल जल्दै गरेको र पुल भत्किएको तस्विरहरु सामाजिक संजालमा भाइरल हुन धेरै समय लागेन। रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले यो आक्रमणको जिम्मेवार युक्रेन रहेको जनाएको छ। यता, आक्रमणपछिका दृश्य भाइरल भइरहँदा ‘सिक बर्न’ लेखेर रसियालाई चिढ्यायो। जसकारण अहिले युक्रेनको राजधानी किभ जलिरहेको छ।
पश्चिमा मिडियाहरुको दाबी छ : पुटिन बदला लिइरहेका छन्। क्रिमिया जोड्ने पुलमाथि आक्रमणपछि पुटिन आक्रमक हुने संकेत देखिएको थियो। त्यो अहिले पुष्टि भएको उनीहरुले बताइरहेका छन्। युक्रेनले राजधानी किभसँगै अन्य शहरमा एकैदिनमा ८५ भन्दा बढी मिसाइल आक्रमण रसियाले गरेको जनाएको छ। धेरैजसो आक्रमणको निशानामा नाच चलेका भवन र सरकारी कार्यालय छन्। सडकमै मिसाइल खसेको र आगो जलिरहेको सवारीसाधनका तस्विरहरु भाइरल भइरहेका छन्।
यो आक्रमणलाई केहीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीको ‘नादानी’ को उपज भनिरहेका छन्। युद्धलाई अन्त्य गर्नेतर्फ उनले प्रयास नै नगरेको आरोपसमेत लाग्ने गरेको छ। एकातर्फ उनले राष्ट्रवादी छवी बनाएर पुटिनलाई विश्वमा एक्लाउने काम गरिरहेका छन्, अर्कोतर्फ भने उनी आफ्नो देशको भविष्य के होला भन्ने बारेमा नै अनभिज्ञ छन्। यस्तोमा रसिया र क्रिमिया जोड्ने पुलमा आक्रमण उनको लागि निकै गाह्रो पर्ने देखिएको छ।
यता, पुटिन आफैलाई पश्चिमा राष्ट्रहरुको विरोध गरेर आफूलाई ‘ग्लोबल हिरो’का रुपमा प्रस्तुत गर्न चाहन्छन्। युक्रेन आक्रमणलाई निरन्तरता दिइरहनुले उनको यही छवीलाई दर्साउँछ। हालसम्म पुटिन एक्लै लडिरहेका थिए। उनको साथमा चीन, बेलारुस लगायत केही राष्ट्र अप्रत्यक्ष रुपमा छन्। नेपाल, भारत लगायत दक्षिण एसियाली देशले पनि संयुक्त राष्ट्रसंघमा हुने रसियाविरुद्धको मतदानमा सहभागी भएका छैनन्। तर पनि बेलारुसबाहेक कुनै पनि राष्ट्रले खुलेर रसियाको युद्ध नीतिको समर्थन गरेका छेनन्। हालसम्म उनी एक्लै युद्ध लडिरहेका थिए। अहिले भने उनले साथ खोज्न थालेका छन्।
पुटिनलाई थाहा भइसक्यो, यो युद्ध लम्बिन्छ। र, यदी युद्ध अन्त्य गर्ने हो भने ‘टार्गेट’ को अन्त्य आवश्यक छ। त्यसैले उनले पछिल्लो समय किभमा बमबारी सुरु गरे। त्यसका लागि उनले सैन्य कमान्डरमात्रै फेरेनन्, आफ्ना देशका युवाहरुलाई सेनामा आएर देशका लागि लड्न निर्देशनसमेत दिएका छन्। जसलाई पश्चिमा राष्ट्रहरुले पुटिनको हारको संज्ञा दिइरहेका छन्।
पश्चिमा राष्ट्रले नाकाबन्दी र प्रतिबन्ध लगाए पनि पुटिन अहिले आफूले चाहेको लक्ष्यतर्फ अग्रसर छन्। डोनबास, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्रमा जनमत संग्रह गराएर उनले ती क्षेत्रलाई रसियामा गाभ्ने निर्णय गरिरहेका छन्। यद्यपि, सो जनमत संग्रहलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन।
करिब २०० दिन अघिसम्म किभमा पनि बम पड्किएको आवाज सुनिएको थियो। तर, महिनौं भइसकेको थियो किभ शान्त थियो। किभ आफ्नो देशको अन्य क्षेत्र बचाउन संघर्षरत थियो, योजना बनाउँदै थियो। तर, अहिले एक्कासी किभको अस्तित्वनै संकटमा पर्ने गरि भएको आक्रमणपछि पश्चिमा राष्ट्रहरु ‘काउन्टरमेजर’ हरु बनाउन छलफलमा जुटिरहेका छन्। १ करोड ३७ लाख भन्दा बढी मानिस युक्रेनबाट बाहिरिएपछि र दुवै तर्फबाट हजारौं मानिसको मृत्यु भएपछि अहिले एउटा पुलमाथिको आक्रमण र त्यसपछिको ‘रिभेन्ज’ले मात्रै विश्व समुदाय युद्ध अन्तय गराउने बारे छलफलमा जुटेको हो।
‘क्रेच स्ट्रेट ब्रिज’ रसियाको गर्वको प्रतिक थियो। १९ किलिमिटर लामो सो पुल युरोपकै सबैभन्दा लामो पुल थियो। सो पुलले रसिया र क्रिमियामात्रै जोड्दैन थियो। दक्षिण युक्रेनमा रसियाली सेना पनि सोही पुल हुँदै जान्थे। यो पुल युक्रेनविरुद्ध रसियाको ‘लाइफलाइन’ जस्तै थियो। त्यसैले पनि यो पुल युक्रेनको निशानामा पर्यो।
युक्रेनले सो पुल ध्वस्त बनाएको स्वीकार गरेको छैन। तर, ‘सिक बर्न’ जस्ता टिप्पणीले रसियालाई उक्साएको विश्लेषण गरिएको छ। युक्रेनले ट्रक बम प्रयोग गरेर यो पुल ध्वस्त बनाएको बताइन्छ। हवाइ आक्रमण गर्दा रसियाले प्रतिवाद गर्न सक्ने हुँदा योजना बनाएर नै यो पुलमाथि आक्रमण गरिएको विश्लेषकहरुको बुझाइ छ।
यो पुल ध्वस्त भएपछि अहिले दक्षिण युक्रनेसम्म पुग्ने रसियाको बाटो बन्द भएको छ। युक्रेन अहिले सो क्षेत्रमा ‘काउन्टर अफेन्सिभ’ रणनीति अन्तर्गत अघि बढिरहेको छ। जसको चाल पुटिन र रसियालाई नभएको होइन। त्यसैले पनि अहिले किभमाथिको आक्रमण युक्रेनको ‘काउन्टर अफेन्सिभ’ रणनीतिलाई कमजोर बनाउनु पनि हो।
सो पुल पुटिनले सन् २०१८ मा आफै उद्घाटन गरेका थिए। उनले आफै सो पुल माथि गाडी चलाएर पुलको शुभारम्भ गरेका थिए। अहिले सो पुल ध्वस्त भएपछि रसियालीहरुलाई प्रश्न उठाउन थालेका छन्। के पुटिनले युद्ध रणनीतिलाई प्रभावकारी रुपमा सम्हाल्न सक्छन् ?
अहिले हजारौं रसियाली युवाहरु पुटिनको सेनामा भर्ती हुने आदेश अस्वीकार गर्दै देशबाट पलायन भइरहेका छन्। यसबिच एक्लिएका पुटिनलाई आफ्नो देश बचाएर आफ्नो सत्ता पनि जोगाउने चुनौती बढ्दो छ। अनि, युद्ध थप हिंस्रक बन्ने तर्फ अग्रसर भइरहँदा विश्व आणविक हतियारको प्रयोगको त्रासमा पनि छ।