बाँकेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
बाँके, २६ असाेज । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ झुरिखोलामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जीपमा रहेका तीन यात्रु घाइते भएका छन् ।
उक्त दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काठमाडाैंतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भएर पल्टिँदा चालकसहित चारजना घाइते भएका थिए ।
घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा चालकको मृत्यु भएको हो ।
घाइतेमध्ये वीरेन्द्रनगर नगरपालिका– ७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भीर रहेको छ भने अन्य दुईजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।