बुढेसकाल सहजपूर्वक जिउने सत्यमोहन सूत्र – चिन्ता गर्ने होइन चिन्तन गर्ने

सुरेश किरण

सत्यमोहन जोशीको दीर्घआयुको रहस्यबारे कुरा उठ्दा अक्सर चर्चामा आउने एउटा प्रशंग छ, हरेक दिन राति सुत्नु अघि दुई पेग ‘वासः’ (नेवाः रक्सी) लिने ।

हुन त रक्सीलाई स्थानीय नेपालभाषामा ‘अयलाः’ भनिन्छ । तर अयलाः खानेहरू भने यसलाई ‘वासः’ नामले सम्बोधन गर्छन् । ‘वासः’ को अर्थ हुन्छ औषधी । सत्यमोहन जोशी हरेक दिन सुत्नु अघि दुई पेग ‘औषधी’ खाने हुँदोरहेछ । हो न हो, यो ‘औषधी’ नै उहाँको १०३ वर्षे लामो जीवनको रहस्य ठान्नेहरू धेरै छन् ।

एक पटक उहाँलाई भेट्न म लगायत तीन जना सहकर्मीहरु बखुंबहालस्थित उहाँको निवास गएका थियौं । त्यो दिन मौसम धुम्म परेको थियो तर उहाँको मुड भने खुलेको थियो ।

हामीलाई एकछिन कुराएर उहाँ घरको अर्को छेउतिर जानुभयो । फर्केर आउनुहुँदा उहाँको एउटा हातमा थियो एक बोतल घरेलु ‘वासः’ र अर्को हातमा एक बाटा उसिनेको अण्डा ।

हामी तीन जना अलमल प¥यौं । किनभने त्यहाँ पुगेका हामी तीनै जना ‘वासः’ नखाने प्राणी थियौं ।

‘लौ, अब गर्ने ?’ हाम्रो कुरा सुनेर उहाँ पनि अलमलिनुभयो ।

अलमल भए पनि कुरा मिलायौं । हामीले अण्डा खायौं, उहाँले वासः ।

अहिले मृत्यु पश्चात उहाँको शरीरलाई नजलाइकन चिकित्सकीय अध्ययनका लागि किष्ट अस्पताललाई प्रदान गर्ने निर्णय भएको छ । शायद अध्ययनका क्रममा उहाँको शरीरलाई यसरी १०३ वर्षसम्म ठिङ्ग उभ्याइराख्नुमा ‘वासः’ को कति भूमिका छ, त्यसमाथि पनि अनुसन्धान हुन्छ नै होला ।

बुढेसकाल बिताउनु गाह्रो हुन्छ । उहाँ जतिको लामो आयु जिउन त झनै गाह्रो होला । तर बुढेसकाल बिताउने सजिलो उपाय उहाँ सुझाउनुहुन्थ्यो, ‘बुढेसकाल लागेपछि मलाई कसले हेप्यो, कसले माया गरेन, कसले टेर्न छोड्यो भने चिन्ता गर्ने होइन । यतिबेला त आफू यो संसारमा किन जन्मेँ हुँला, कुन उद्देश्य लिएर जन्मेँ हुँला, आफू जन्मनुको उद्देश्य पूरा गर्न सकियो वा सकिएन भन्नेतिर चिन्तन गर्ने हो । चिन्ता गरे बुढेसकाल गाह्रो हुन्छ, चिन्तन गरे सजिलो ।’

आजभन्दा १०३ वर्ष अघि अर्थात वि.सं. १९७७ साल वैशाख ३० गते ललितपुरको बखुंबहालस्थित निवासमा बुबा शंकरदास जोशी र आमा राजकुमारी जोशीको कोखबाट सत्यमोहन जोशीको जन्म भएको थियो ।

आफ्नो जीवनकालमा जोशीले धेरै पुस्तक लेख्नुभयो, धेरै ठाउँमा बोल्नुभयो । उहाँलाई धेरै बोल्ने वक्ताका रूपमा चिन्ने गरिन्छ । एउटै सभामा उहाँ धाराप्रवाह डेढ घन्टा मजाले बोल्नुहुन्थ्यो ।

तर बालककालमा भने उहाँको बोली धेरै पछि मात्रै फुटेको रहेछ । सात वर्षको उमेरसम्म पनि बोली नफुटेपछि आमाबाले उहाँलाई भक्तपुरको सूर्यविनायक जंगलमा छोडिदिनुभएको रहेछ । जंगलमा आफू हराएपछि उहाँ ‘यः मां ! यः मां !’ भनी जोड जोडले रुनुभएछ । त्यो नै उहाँको पहिलो वक् फुटाइ हो ।

सत्यमोहन जोशीको जीवनीसँग नजोडिएको विषय शायदै मात्र होला । साहित्य, कला, संगीत, संस्कृति, लोकसंस्कृति, लोकसाहित्य, धर्म, इतिहास, पुरातत्व, जाति, भाषा, व्याकरण, कोश, रङ्मञ्च, प्रशासन…धेरै क्षेत्रमा उहाँले आफूलाई विस्तार गर्नुभएको छ ।

नेपाली मुद्रा, झ्याल आदि जस्ता सुख्खा विषयमा अनुसन्धान गरी उहाँले त्यसभित्र विद्यमान रोचक पक्षहरूलाई उजागर गर्नुभयो । कुनै बेला मान्छेसम्म पुग्न गाह्रो लाग्ने कर्णाली क्षेत्र पुगेर त्यहाँको लोकसंस्कृतिलाई पहिलोपटक नेपाली समाजमा उजागर गर्ने श्रय उहाँलाई दिइएको छ ।

नेपाली इतिहासमा कहीं उल्लेख नभएका कलाकार अरनिकोलाई नेपाली जनमानसमा चिनाउने काम पनि उहाँले नै गर्नुभयो ।

यी विभिन्न विषयहरूमा उहाँले लेख्नुभएका नेपाली, नेपालभाषा र अंग्रेजी समेत गरी उहाँका करिब सय पुस्तक प्रकाशित छन् । साहित्यमा उहाँको सम्बन्ध महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, पुष्करशम्शेरसँग पनि घनिष्ठ थियो ।

उहाँ १९ वर्षको हुँदा पाटनकै राधादेवी पात्रवंशसँग उहाँको विवाह भएको थियो । त्यतिबेला १४ वर्षकी राधादेवी गएको जेठ महिनादेखि ९९ वर्षको उमेरमा पुग्नुभएको छ ।

सत्यमोहन जोशी ७७ वर्ष ७ महिना पुग्दा उहाँको पहिलो जंक्व (भीमरथारोहण) भएको थियो । उहाँको पहिलो जंक्व हुँदा उहाँकी आमा राजकुमारी जोशी पनि जीवितै हुनुहुन्थ्यो ।

जोशीका अणुराज, डा. हेमन्तराज र डा. पूर्णराज जोशी गरी तीन छोरा हुनुहुन्छ भने कावेरी, दिलकुमारी (गंगा) र खड्गलक्ष्मी गरी तीन छोरी हुनुहुन्छ ।