कञ्चनपुरका हाेमस्टेमा भरिनथाले पाहुना

कञ्चनपुर, १ कार्तिक । कञ्चनपुरका हाेमस्टेमा यतिखेर पाहुनाहरूको भीड लाग्न थालेकाे छ । कोरोना महामारीपछि सुनसान बनेका हाेमस्टेमा अहिले पर्यटकहरू भरिभराउ छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेकाे हाेमस्टेमा पर्यटक बढ्न थालेपछि अहिले यहाँ रहेका १६ वटा हाेमस्टे भरिभराउ रहेको सञ्चालक चेतराम रानाले बताउनुभयो ।

उहाँले अहिले पोखरालगायतका ठाउँबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको रोजाइ हाेमस्टेमा हुने गरेको बताउनुभयो । “होटलमा महँगो र होहल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्छन्”, उहाँले भन्नुभयो, “अहिले पोखराबाट विद्यार्थीहरू आएका छन्, सबै पाहुनाघर भरिभराउ छन् ।”

अर्का स्थानीय बाबुराम रानाले हाेमस्टेमा पाहुनाको भीडभाड हुन थालेको बताउनुभयो । “कोरोनाले त सुनसान भएको हो अहिले पाहुनाहरू बढ्न थालेका छन्”, उहाँले भन्नुभयो, “पाहुना आउने समय पनि यही हो ।” विशेषगरी चाडपर्वको बेला र फागनुमा पाहुनाहरू बढी आउने गरेको उहाँले बताउनुभयो ।

पर्यटक बढेसँगै आयआर्जनमा समेत वृद्धि हुन थालेको रानाले बताउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा हाेमस्टे सञ्चालनमा आएपछि यहाँका स्थानीयको आय स्तरमा समेत वृद्धि हुन थालेको चेतरा रानाले बताउनुभयो । “राना थारू बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ”, उहाँले भन्नुभयो, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेका छन् ।”

घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणसँगसँगै प्रचारप्रसारसमेत भएको रानाले बताउनुभयो । “यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरूले खानाका परिकारदेखि नाचगान देखाउँछौँ”, उहाँले भन्नुभयो, “यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा समेत टेवा पुगेको छ ।”

पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार विसं २०७५ मा दुई सय ६६ विदेशीले भ्रमण गरेका छन् भने एक सय ९३ जना सार्क मुलुकका नागरिकले भ्रमण गरेका छन् । विसं २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ । एक हजार छ सय ५१ विदेशीले भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् । त्यसैगरी २६ हजार तीन सय ८२ स्वदेशीले शुक्लाफाँटा भ्रमण गरेका छन् ।