स्वप्नद्रष्टा ओली जिताउन झापाली मतदातालाई एमालेको अपिल
काठमाडौं, १ कात्तिक । मंसिर ४ मा हुने निर्वाचनका लागि अहिले सबै राजनीतिक दल चुनावी अभियानमा होमिएका छन् । चुनावी अभियानमा होमिएका सबै राजनीतिक दलहरुले जित सुनिश्चित भन्दै आएका छन् । यद्यपि, कुन जिल्लामा को बलियो भन्ने लेखाजोखा सुरु भएको छ । अहिलेसम्म हेर्दा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा सुरक्षित देखिनुभएको छ ।
पार्टी अध्यक्ष नै उम्मेदवार बनेपछि सो क्षेत्रको चुनावी प्रचार पनि तिव्र बनेको छ । उहाँलाई जिताउन झापा जिल्लाको नेकपा (एमाले) निर्वाचन परिचालन मूल समितिले अपिल गरेको छ । एमाले निर्वाचन परिचालन मूल समिति झापा क्षेत्र नम्बर ५ ले एक अपिल जारी गर्दै पार्टी अध्यक्ष ओलीलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गरेको हो ।
अपिलमा ओली जस्ता दूरदर्शी नेतालाई जिताउन आग्रह गर्दै भनिएको छ । ‘नेकपा एमालेले भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको छ । २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि उहाँ प्रधानमन्त्री बन्नुभयो । उहाँले अगाडि सार्नु भएका योजनाले यस निर्वाचन क्षेत्रले विकासमा फड्को मारेको छ । आगामी दिनमा पनि यस क्षेत्रको विकासका लागि केपी शर्मा ओलीको खाँचो छ । त्यसैले विना भ्रम, विना अलमल २०७९ साल मंसिर ४ गते सम्पन्न हुने गइरहेको निर्वाचनमा यस क्षेत्रबाट केपी शर्मा ओलीलाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजय गराउन अपिल गर्दछौँ ।’
अपिलमा ओलीले गर्नुभएका सकारात्मक कामको केही फेहरिस्त पनि उल्लेख गरिएको छ । ओली ०४८ सालको निर्वाचनमा झापा ६ बाट निर्वाचित हुनुभएको थियो भने ०५१ सालमा गृहमन्त्री बन्नुभएको थियो । ०६२–०६३ को जनआन्दोलनपछि परराष्ट्रमन्त्री बन्नुभएका ओलीले भुटानी शरणार्थीको समस्यालाई समाधान गर्नुभएको कुरा पनि अपिलमा उल्लेख छ । त्यस्तै उहाँ प्रधानमन्त्री भएका बेला ०७२ सालमा भारतले लगाएको नाकाबन्दीको सामना गरेको कुरालाई पनि अपिलमा उल्लेख गरिएको छ ।
राष्ट्र, राष्ट्रियता र स्वाधिनताको लडाईँमा अग्रपङ्क्तिमा रहनु भएका ओलीमा देशविकासको सपना भएको उल्लेख गरिएको छ । उहाँका पालामा पूर्वपश्चिम रेलमार्ग, बैकल्पिक राजमार्गको परिकल्पनाका कारण पनि ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा देख्न झापा ५ बाट विजयी बनाउन अपिल गरिएको छ ।

