हनुमानढोकाको बन्द त्रिशुल चोकमा आज दिनभरि न्यतमरु अजिमाको बाह्रवर्षे नाच
माया–प्रेम आखिर देवताले नै सिर्जना गरेका कोमल भाव हुन् । अतः देवीदेवताहरू बीच पनि माया–प्रेम रहन जानु कुनै अनौठो भएन । हाम्रा पुराण एवं धार्मिक महाकाव्यहरूमा देवी–देवताबीचका अनेक प्रेमकथाहरू पढ्न पाइन्छ ।
त्यस्तै एउटा गहिरो प्रेम काठमाडौंकी आराध्यदेवी श्री कुमारीको पनि पर्न गएको रहेछ । तर उहाँको प्रेम कुनै देवतासँग होइन, एक दानवसँग थियो । ती दानव थिए चन्द्रासुर ।
दानव चन्द्रासुरले काठमाडौं राज्यलाई अनेक प्रकारले दुःख दिँदै आइरहेका थिए । उनको अत्याचारले काठमाडौं आक्रान्त थियो । त्यसैले काठमाडौं नगरका राजाले चन्द्रासुरबाट कसरी मुक्त हुन सकिएला भनी देवी श्वेतकालीसमक्ष प्रार्थना गरे ।
श्वेतकालीले कुनै उपाय गर्न सकिएला कि भनी ध्यान गर्नुभयो । ध्यानबाट थाहा पाउनुभयो, चन्द्रासुर दैत्यसँग त आफ्नै छोरी कुमारीको पो प्रेम सम्बन्ध रहेछ ।
उहाँले छोरी कुमारीलाई बोलाएर सम्झाउनुभयो । चन्द्रासुर अहिले आफ्नो देशकै लागि खतरा बन्दै गइरहेको छ । त्यसैले उनको वध अनिवार्य छ । तर चन्द्रासुर अत्यन्त बलमान छ । उनको वध अरु कसैले गर्न सक्दैन । यसको लागि स्वयम् कुमारी नै अघि सर्नुपर्ने हुन्छ । यो आफ्नो मुलुकको अस्तित्व र देशवासीको सुरक्षासँग जोडिएको सवाल हो । त्यसैले मुलुकको लागि आफ्नो प्रेमको तिलाञ्जलि दिएर भए पनि चन्द्रासुर दैत्यको वध गर्नै पर्छ ।
देवी कुमारी दोधारमा पर्नुभयो । एकातिर आफ्नो चोखो प्रेम, अर्कोतिर राष्ट्रको सुरक्षा । कुन चुनौं ?
अन्ततः उहाँले राष्ट्रको अस्मितालाई महत्वपूर्ण ठान्नुभयो । र, आफ्नो राष्ट्रमाथि जाइलाग्न आउने आफ्नै प्रेमि चन्द्रासुर दैत्यको वध गर्ने निर्णय गर्नुभयो ।
एक दिन मौका पारेर देवी कुमारीले प्रेमि चन्द्रासुरलाई भेट्न बोलाउनुभयो । देवी कुमारीको भित्री आसय त चन्द्रासुरलाई थाहा थिएन । उनी आफ्नी प्रेमिकाले बोलाएकै ठाउँमा सहर्ष आइपुगे ।
तर देवी कुमारी चन्द्रासुर वधका लागि श्री तलेजु भवानीको समेत शक्ति आर्जन गरी तयारीसाथ आउनुभएको थियो । आफूलाई भेट्न आफूले नै बोलाएको स्थानमा आएका प्रेमि चन्द्रासुरलाई उहाँले एकै क्षणमा खड्ग प्रहार गरी वध गर्नुभयो ।
आफूमाथि आफ्नै प्रेमिकाद्वारा अनायास यो प्रहार किन ? चन्द्रासुरले बुझ्न सकेन । उनी किंकर्तव्यविमूढ भए । र, त्यहीं प्राण त्यागे ।
उता मुलुकलाई दुःख दिँदै आइरहेका दैत्यको अवसानको खबर सुनेर देशवासीहरू सबै खुशी भए । देवी कुमारीको जय जयकार मनाए ।
आफ्नो राष्ट्रमाथि हमला गर्न खोजिरहेका एक दुश्मनको वध गर्न सकेकोमा देवी कुमारी पनि खुशी त थिए । तर दुश्मनै भए पनि थिए त उनी आफ्नै प्रेमि । आफ्नो प्रेमिको वध गर्नुपर्दा उहाँ दुःखी पनि हुनुहुन्थ्यो । त्यसैले राष्ट्रको नाममा बलिदान गर्नुपरेको आफ्नो प्रेमलाई अमर बनाउन उहाँले आजीवन अविवाहित रही जीवन बिताउने प्रतिज्ञा पनि गर्नुभयो ।
देवी कुमारीले आफ्नो प्रेमको बलिदान गरी राष्ट्र बचाएको खुसियालीमा हरेक बाह्र वर्षमा धुमधामसाथ उहाँको जात्रा चलाउने गरिन्छ । यो जात्रा देवी कुमारीकी आमा श्री श्वेतकालीको नाममा समर्पित छ । श्वेतकाली देवीलाई स्थानीय नेपालभाषामा ‘न्यतमरु अजिमा’ भनी सम्बोधन गरिन्छ । अतः यो जात्रालाई ‘न्यतमरु अजिमाको बाह्र वर्षे देवीप्याखं’ भनिन्छ । यो देवीलाई नरदेवी नामले पनि चिनिन्छ ।
यही बाह्र वर्षे जात्राको एक अंश हिजो सोमवारदेखि काठमाडौंमा शुरु भएको छ ।
जात्राका क्रममा हिजो नरदेवीदेखि सबै देगगणलाई हनुमानढोकास्थित तलेजु मन्दिरमा पु¥याएको थियो । हिजो एक रात त्यहीं बसेपछि आज बिहानैदेखि हनुमानढोकाभित्र तलेजु मन्दिर रहेको त्रिशुल चोकमा न्यतमरु अजिमाको नाच चलाएको छ ।
अरु बेला त्रिशुल चोक सर्वसाधारणको लागि बन्द गरिएको हुन्छ । तर आज भने न्यतमरु अजिमाको नाच देखाइने भएकोले सर्वसाधारणको लागि पनि खुल्ला गरिएको थियो ।
भोलि यही नाच बसन्तपुरको कुमारी घर छेउमा रहेको डबलीमा नचाइने जानकारी नाच व्यवस्थापन समितिका सत्यनारायण डंगोलले दिनुभएको छ । भोलि दिनभरी कुमारी घर छेउको डबलीमा नचाइसकेपछि पर्सि बेलुकी सबै देवगणहरू फिर्ता हुन्छन् । त्यतमरु अजिमाको द्यःछेँ (देवघर) मा उहाँहरूलाई भित्र्याइसकेपछि यो वर्षको जात्रा सकिन्छ ।
डंगोलका अनुसार अर्को वर्ष फेरि अर्कै ठाउँमा नाच लिएर जाने गरिन्छ । त्यो पनि न्यतमरु अजिमाको बाह्र वर्षे नाचकै एक अंश हो ।
