माधव नेपाललाई ओलीको जवाफ– ‘भ्रष्ट्राचार गरेको भए डराउनु, नभए देश छाड्नु पर्दैन’

केही दिन अघि मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुटवलमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अलिकति शक्ति आर्जन गरे भने पनि देश छाडेर भाग्नुपर्ने अवस्था आउने भन्दै कटाक्ष गर्नुभएको थियो । ‘ओलीले अलिकति शाक्ति आर्जन गरे भने बहुमतको त कुरै छाड्नुस्, त्यसपछि देश नै छाडेर भाग्नुपर्ने हुन्छ,’ नेपालले भन्नुभएको थियो ।

नेपालका ती भनाई प्रति लक्षित गर्दै त्यसको केही दिनपछि मैत्रीन्जयु डटकमसँग निवासमै अन्तर्वार्ताका सिलसिलामा अध्यक्ष ओलीले भन्नुभयो– ‘उहाँहरुले कस्तो भ्रष्ट्राचार गरेको छ भनेर स्वीकारेको होला ! ऊ आयो भने कारवाही हुन्छ भनेको त होला ! के भनेको थाहा छैन । तर, त्यस्तो भनेकोचाँहि सुनियो ।’ ओलीले नेपालको त्यो भनाइप्रति लक्षित गर्दै भन्नुभयो– देश छाडेर किन जानु पर्यो ? देश छाडेर किन भाग्नु पर्यो भन्दा त्यस्तै केही होला ।’

देश छाडेर किन जानु पर्यो ? देश छाडेर किन भाग्नु पर्यो भन्दा त्यस्तै केही होला

उहाँले भ्रष्ट्राचारी बाहेक अरु डराउनु नपर्ने बताउनुभयो । ‘डराउनु पर्ने कुनै आवश्यकता छैन । हामी कुनै राजनीतिक प्रतिशोधको खेल खेल्दैनौँ,’ उहाँले भन्नुभयो, ‘देशै छाडेर भाग्नु पर्ने आशंका उहाँहरुलाई किन भयो म जान्दिन । के गल्ती उहाँहरुले गर्नुभएको छ । के–को त्रासले उहाँहरुले भाग्ने भन्नु भएको हो थाहा भएन ।’ उहाँले गठबन्धनप्रति लक्षित गर्दै भन्नुभयो– ‘उहाँहरुको सरकार बन्दा त आफूहरु देश छाडेर भाग्नु परेन, हामी भागेनौँ । उहाँहरुको जस्तो दमनकारी, पूर्वाग्रही, प्रतिशोधी, निषेधकारी सरकार हुँदा त हामी प्रतिस्पर्धा गरिहेका छौँ ।’

उहाँले पञ्चायतकालमा निरंकुश व्यवस्था हुँदा पनि देश छाडेर नभागेको स्मरण पनि ओलीले गराउनुभयो । ‘हामीले त्यसलाई पल्टाएर छाड्यौँ,’ उहाँले भन्नुभयो । ओलीको पूरा अन्तर्वार्ता छिट्टै प्रकाशन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *