एनपिएल : कर्णाली याक्सद्वारा लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य
एनपिएल
काठमाडौँ, कात्तिक २६ नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगितामा कर्णाली याक्सले लुम्बिनी लायन्ससामु १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनायो ।
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाउनुभयो । त्यसैगरी हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रनको योगदान दिनुभयो । टोलीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेक गौतमले समान दुई–दुई तथा शेर मल्लले एक विकेट लिनुभयो ।
अङ्क तालिकामा कर्णाली याक्स सातौँ स्थानमा छ । पाँच खेल खेलेको कर्णालीले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ ।
त्यस्तै, लुम्बिनी लायन्स पाँच खेलबाट तीन जित, एक हार र वर्षाका कारण एक खेलमा अङ्क बाँड्दै तेस्रो स्थानमा रहेको छ ।
