टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ, कार्तिक २६ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १३ स्थित पिडारीचोकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको मधेश प्रदेश ०३-००१ ख ७५०४ नम्बरको टिपरले आज ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर चालक महोत्तरीको मनरासिस्वा नगरपालिका ५ कटैयाका २० वर्षीय नवीन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

दुर्घटनापछि मृतकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रहरीले टिपर चालक महोत्तरीको भङ्गहा नगरपालिका ७ सितापुरका २२ वर्षीय सचिनकुमार सिंहलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *