छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

जनकपुरधाम, १३ कात्तिक । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा छिमेकी मुलुक भारतबाट आयात गरिएको छ ।

छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्यकारूपमा चढाउने परम्परा छ ।

छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुनेहुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो ।स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको उहाँले बताउनुभयो ।

अध्यक्ष यादवले अघिल्लो वर्ष पौने दुई करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको बताउनुभयो । “यस वर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्”, उहाँले भन्नुभयो ।जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भन्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ ।

मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो ।

पूर्वेले भन्नुभयो, “छठ पर्व मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५–२० ट्रक बढी ६० ट्रकजति केरा मगाइएको छ ।”

फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार बजारमा केराको घरीलाई पाँचसयदेखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनका लागि तराई–मधेस वा समग्र नेपालको भूमि राम्रो मानिन्छ । तर केराको आवश्यकता हुने चाडपर्वका समयमा समेत भारतकै भरपर्नुपर्ने अवस्था छ ।

नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।

देशभित्र यस्तो अवस्था छ भने उता भारतबाट आउने केराको मूल्य भने यहाँको भन्दा सस्तो पर्छ ।