फेसबुकमा उम्मेदवारको प्रचार गर्ने सरकारी कर्मचारीलाई कारवाही

काठमाडौं, २२ कार्तिक । सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेदवारहरूको प्रचार गर्ने एक जना सरकारी कर्मचारीलाई पनि निर्वाचन आयोगले कारवाही गरेको छ ।

राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यलाई आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारहरूको प्रचार गरेको आरोपमा त्यस्तो कारवाही गर्न लागिएको हो ।

निज आचार्यले फेसबुक मार्फत नेकपा (एमाले)का उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेको सम्बन्धमा उजुरी आएकाले आवश्यक कारबाहीका लागि निर्वाचन आयोगले सम्बन्धित विभागलाई पत्र पठाएको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) मा कुनै कर्मचारी वा पदाधिकारीले निर्वाचनको कामको सम्बन्धमा प्रचलित कानून वा आयोगले दिएको निर्देशनको विपरीत कुनै काम कारबाही गरेमा आयोगले त्यस्तो कर्मचारी वा पदाधिकारी उपर निजको सेवा शर्तसम्बन्धी प्रचलित कानून बमोजिम विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने व्यवस्था छ ।

निर्वाचन आचारसंहिता, २०७३ को दफा ८, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था छ ।

‘‘प्रचलित सेवा शर्त सम्बन्धी कानून बमोजिम अनुसन्धान तथा कारबाही गरी निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (३) बमोजिम तीन महिनाभित्र निजलाई भएको कारबाहीको जानकारी निर्वाचन आयोगलाई गराउन निर्णयानुसार अनुरोध छ ।’ आयोगको पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *