टी-ट्वान्टी विश्वकप खेलमा आज भारत र इंग्ल्यान्ड भिड्दै

काठमाडाैं, २४ कात्तिक । अष्ट्रेलियामा भइरहेकाे आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज बिहीबार दोस्रो सेमिफाइनलमा पूर्व च्याम्पियन दुई टोली भारत र इंग्ल्यान्ड भिड्दै छन् ।

खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ ।

२००७ को पहिलो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो भने २०१० को तेस्रो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन इंग्ल्याण्ड २०१६ को विश्वकपमा फाइनल पुगेको थियो ।

दुवै टोलीले सिधै सुपर १२ मा स्थान बनाएका थिए । इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएर सुपर १२ को सुरुआत गरेको थियो भने भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेटले पराजित गरि सुपर १२ को यात्रा सुरु गरेको थियो ।

यी दुई देशबीच टी-ट्वान्टी अन्तराष्ट्रियमा हालसम्म २२ खेल हुँदा भारत १२ र इंग्ल्याण्ड १० खेलमा विजयी भएका छन् ।