पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं, २६ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई १३३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भयो।

पोखराका लागि ओपनर युवराज सम्राले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए। उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे। यस्तै, धनञ्जय लक्षणले २२ र सनि बीकेले १२ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

विराटनगरका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले ह्याट्रिकसमेत पूरा गरे। यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए।

प्लेअफ सम्भावना कायम राख्न दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ। पाँच खेलबाट दुई जित र तीन हार व्यहोरेको विराटनगर अंकतालिकाको छैटौँ स्थानमा छ। पाँच खेलमा एक जित र चार हार बेहोरेको पोखरा आठौँ स्थानमा छ।

आजै हुने अर्को खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल अपराह्न ५ बजे सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *