कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली
काठमाडौं, २६ कात्तिक । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो।
कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लिग चरणको अन्तिम खेलमा लुम्बिनीले विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।
लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए। उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे। त्यस्तै दिलीप नाथले अविजित २८ र निरोशन डिकवेलाले १६ रनको योगदान दिए।
सुरुवातमै विकेट गुमाएको लुम्बिनीको इनिङ्स सर्टले सम्हालेका थिए। आसिफ पौडेल, कप्तान रोहित पौडेल र सन्दीप जोराको विकेट १९ रनमै गुमाएको लुम्बिनीका लागि सर्ट र डिकवेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए।
बलिङमा कर्णालीका मार्क वाटले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा एक मेडनसहित १२ रन खर्चेर चार विकेट लिए। पवन सर्राफ र हुसेन तलतले एक–एक विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमा अलआउट भएको थियो। उसका लागि सोमपाल कामीले २८ र हुसेन तलतले २४ रन बनाए। पवन सर्राफले १२ तथा गुल्सन झाले १३ रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
एक समय १५ रनमै चार विकेट गुमाएको कर्णालीका लागि पवन र सोमपालले ४० रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरेका थिए। तर नियमित अन्तरमा विकेट गुमाएपछि टोली ठूलो योगफल बनाउन असफल भयो।
लुम्बिनीका लागि अभिशेष गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले दुई–दुई विकेट लिए। रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक–एक विकेट लिए।
लगातार चौथो हार व्यहोरेको कर्णाली ६ खेलबाट चार अंकसहित अंकतालिकाको सातौँ स्थानमा छ। सुरुवाती दुई खेल जितेको कर्णाली त्यसयता लगातार चार खेलमा पराजित भएको छ।
