फिफा विश्वकप फुटबल: स्पेनकाे भारी गाेलले कोस्टारिका पराजित

काठमाडाैं, ८ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनकाे भारी गाेलले कोस्टारिका पराजित भएकाे छ ।

कतारमा भएको खेलमा कोस्टारिकालाई ७–० गोल अन्तरले हराउँदै स्पेनले विजयी सुरुआत गरेको हो । स्पेनले खेलको पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल गर्यो । स्पेनको जितमा फेरान टोरेसले दुई गोल गरे भने डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक/एक गोल गरे ।

स्पेनले खेलको ११औँ मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । खेलको २१औँ मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २–० को बन्यो । खेलको ३१औँ मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३–० ले अघि रह्यो ।

खेलको ५४औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए । ७५औँ मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५–० को अग्रता दिलाए ।

खेलको ९०औँं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७–० गोलको फराकिलो जित दिलाए। यस जितसँगै समूह ‘ई’ को स्पेनले पहिलो खेलमै ३ अङ्क जोडेको छ ।